२०८२ बैशाख ११ बिहीबार

काठमाडौं । हेलिकोप्टर सेवा लिएबापतको आधा अर्ब रुपैयाँ तीन वर्षदेखि उठ्न नसकेको पाइएको छ। पटकपटक सूचीत गर्दा पनि विभीन्न ट्राभल, ट्रेकिङ एजेन्सी र व्यक्तिले तिर्नुपर्ने ५० करोड रुपैयाँभन्दा बढी रकम उठ्न नसकेको वायुसेवा संचालक संघले जनाएको छ।

सेवा वापतको रकम उठाउनका लागि संघले बक्यौता तिर्न बाँकी रहेका कम्पनीको ध्यानाकर्षण गर्दै मंगलबार सूचना जारी गरेको छ। जारी गरेको सूचनामा नामावली सार्वजनिक नगरे पनि अबको ३० दिनमा हिसाब फरफारक नगरे नामावली नै सार्वजनिक गर्ने संघका प्रवक्ता योगराज शर्मा कँडेलले बताए।

उनका अनुसार अधिकांश ट्राभल ट्रेकिङ कम्पनीले आलोपालो गर्दै विभिन्न हेलिकोप्टर कम्पनीको सेवा लिँदै लागेको रकम तिर्नै आनाकानी गर्दै आएका छन्।

‘तीन वर्षदेखि मार्केटमा करिब ५० करोड रुपैयाँ बक्यौता बाँकी छ। एक वर्षयता पैसा बाँकी राखेका कम्पनीलाई २१ दिनभित्र फरफारक गर्न आग्रह गर्नेछौं,’ प्रवक्ता कँडेलले भने,’तर त्योभन्दा अगाडि नै सेवा लिएर बक्यौता नतिर्नेलाई अब पनि बुझाएनन् भने नामावली नै सार्वजनिक गर्नेछौं। पटक पटक ताकेता गर्दा पनि भएन।’

दुई वर्षयता कोभिड-१९ का कारण हेलिकोप्टर सेवा प्रदायक कम्पनी आर्थिक नोक्सानीमा छन्। हाल मुलुकमा ११ वटा कम्पनीको तीन दर्जन भन्दा बढी हेलिकोप्टर व्यवसायिक प्रयोजनका लागि छन्। तर विदेशी पर्यटक आवागमन न्यून हुँदा यी हेलिकोप्टर क्षमता अनुसार प्रयोग हुन नसकेको संघले जनाएको छ। करिब ५० करोड रुपैयाँ बक्यौता उठ्दा यो अवस्थामा कम्पनी संचालनमा निकै राहत हुने व्यवसायी बताउँछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर