
काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्षमा रमेशकुमार हमाल नियुक्त भएका हुन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई अध्यक्षमा नियुक्त गरेको हो ।
करिब ३ दशक सार्वजनिक तथा निजी क्षेत्रमा काम गरेको अनुभव भएका उनले संयुक्त राष्ट्र संघको वातावरणीय प्रोजेक्ट, ब्रिटिस इन्भेष्टमेन्ट कन्सलटेन्सी एण्ड रियल स्टेट डेभलपमेन्ट ग्रुप बैंकको चिफअपरेटिङ अफिसर भएर काम गरेको अनुभव समेत हमालसँग छ ।
हमाल पूर्व गैरआवासिय नेपाली पनि हुन् । उनले एनआरएन थाइल्याण्डका पूर्व अध्यक्षका रुपमा काम गरिसकेका छन् । हमालकाे घर कैलाली हो । हाल उनी ललितपुरमा बस्दै आएका छन् । हमालसँग विदेशका सेयरबजारको ज्ञान र अनुभव छ । हमाल पनि पूर्वाधार, वित्तीय र घरजग्गा क्षेत्रको विज्ञका रुपमा परिचित छन् ।
इलेक्ट्रिकल इन्जिनियरिङमा स्नातक गरेका डोटी सिलगढीका हमालले ८ वर्ष नेपाल विद्युत प्राधिकरणमा काम पनि गरेका थिए ।
अर्थ मन्त्रालयले गठन गरेको छनौट तथा सिफारिस समितिले बोर्डको अध्यक्ष नियुक्तिको लागि ३ जनाको नाम सिफारिस गरेको थियाे।
समितिले डा. गोपाल प्रसाद भट्ट, रमेशकुमार हमाल र कृष्णराज पोखरेलको नाम सिफारिस गरेको थियाे । आवेदन दिएका १५ जनामध्येबाट ५ जनाको सर्ट लिस्ट आएको थियो । ५ जनामा डा. गोपाल भट्ट, डा. रमेश हमाल, कृष्णराज पोखरेल, खगेन्द्र कटुवाल र निरज गिरी परेका थिए ।