काठमाडौं । निजी क्षेत्रले निक्षेपमा व्याजदर वृद्धिको विरोध गरेको छ । निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघले कोरोनाका कारण सानाठूला सबै प्रकारका उद्योग व्यवसाय कठिन अवस्थाबाट गुज्रिरहेको भन्दै निक्षेपमा व्याजदर वृद्धि स्थगन गर्न आग्रह गरेको छ ।
उद्योग व्यवसाय कोरोनापूर्वको अवस्थामा सञ्चालन हुन नसकेको र उत्पादित वस्तु बिक्रीबाट उठ्नुपर्ने रकमसमेत बजारबाट उठ्न नसकिरहेको अवस्थामा बंैकिङ क्षेत्रबाट उद्योग व्यवसायलाई पूर्णरूपमा सञ्चालन गर्ने कार्यमा सहयोगको अपेक्षा भइरहेकोमा निक्षेपमा व्याज वृद्धिको निर्णयबाट उद्योग व्यवसाय क्षेत्र थप सशंकित भएको महासंघको भनाइ छ ।
असहज अवस्थाबाट गुज्रिरहेको उद्योग व्यवसाय क्षेत्र र उद्योगी व्यवसायीले लिएको ऋणको व्याजदर पुनः बढेमा उद्योग व्यवसाय क्षेत्र थप धराशायी हुने र सम्पूर्ण उद्योगी व्यवसायी सडकमा आउने परिस्थिति सिर्जना हुने भन्दै महासंघले चिन्ता प्रकट गरेको छ । हरेक त्रैमासमा निक्षेपमा व्याजदर वृद्धि हुँदै जाने प्रथा कायम हुने हो भने मुलुुकभित्र उद्योग व्यवसाय गर्न सम्भव नहुने पनि महासंघको ठहर छ ।
व्याजदरमा अस्थिरता कायम रहँदा मुलुकमा व्यावसायिक लागत प्रक्षेपण गर्न सक्ने अवस्थासमेत नहुने भन्दै महासंघले विगतका अनुुभवसमेतलाई हेर्दा पनि व्याजदर वृद्धिबाट तरलता समस्या समाधान नहुने पनि उल्लेख गरेको छ ।
महासंघद्वारा शुक्रबार जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘व्याजदर वृद्धिलगायत कारणबाट उद्योग व्यवसाय क्षेत्र चौतर्फी दबाबमा पर्दा यसको प्रत्यक्ष असर मुुलुकको उत्पादन र अर्थतन्त्रमा पर्छ । व्यापार घाटाको दायरा निकै बढिरहेको अवस्थामा पछिल्लो पटक निक्षेपमा व्याजदर वृद्धिको निर्णयबाट कर्जाको व्याजदर वृद्धि हुन गई उद्योग व्यवसाय थप शिथिल हुने र त्यसले आन्तरिक उत्पादन नै ठप्प हुन जाने अवस्था आउनेतर्फ हामी सरकार र नेपाल राष्ट्र बैंकको ध्यानाकर्षण गराउछौँ ।’
अनपेक्षितरूपमा गरिएको निक्षेपमा व्याजदर वृद्धिको निर्णयले आधारदर वृद्धि हुन गई ऋणको व्याजदरमा समेत वृद्धि हुने आशंका गर्ने ठाउँ पर्याप्त देखिएको भन्दै तत्काल निर्णय स्थगन गर्न महासंघले राष्ट्र बैंकको ध्यानाकर्षण गराउनुका साथै थलिएका उद्योग व्यवसायलाई सुुसञ्चालन गर्ने वातावरण बनाउन सरकार, राष्ट्र बैंक र बैंकिङ क्षेत्रसँग आग्रहसमेत गरेको छ ।
वाणिज्य बैंकहरूले फागुनदेखि व्याजदर बढाउने निर्णय गरेका छन् । शुक्रबार बसेको नेपाल बैंकर्स संघको बैठकले फागुन १ गतेदेखि लागू हुने गरी निक्षेपको व्याजदर बढाउने निर्णय गरेको हो । बैंकर्स संघले राष्ट्र बैंकको निर्देशनअनुसार हाल कायम रहेको दरमा १० प्रतिशत व्याजदर वृद्धि गर्ने निर्णय गरेको छ ।
उक्त निर्णयसँगै हाल १०.०३ प्रतिशत रहेको व्यक्तिगततर्फको एकवर्षे मुद्दतीको व्याजदर बढेर ११.०३ प्रतिशत पुग्नेछ । त्यस्तै संस्थागतमा १०.३, बचत खातामा पाँच र कलमा ३.०१५ प्रतिशत व्याजदर कायम हुने बताइएको छ ।
बैंकहरूले व्याजदर बढाउने निर्णयसँगै विकास बैंक र फाइनान्स कम्पनीले पनि व्याजदर बढाउने भएका छन् । विकास बैंकले व्यक्तिगततर्फको एकवर्षे मुद्दती निक्षेपको व्याज ११.५५ प्रतिशत र क्षेत्रीयस्तरका विकास बैंकले ११.६५ प्रतिशत पु¥याउने भएका छन् । फाइनान्स कम्पनीको पनि व्यक्तिगततर्फको एकवर्षे मुद्दती निक्षेपको व्याज ११.७१ प्रतिशत पुग्ने भएको छ ।