अचेल पत्र-पत्रिका, टेलिभिजन तथा रेडियोमा धेरै पढिने र सुनिने शब्द हो – सम्पत्ति शुद्धीकरण । यो सम्पत्ति शुद्धीकरण विषयलाई नेपाल राष्ट्र बैंक अन्तर्गत रहेको सम्पत्ति शुद्धीकरण विभागले हेर्ने गर्दछ । यस सम्बन्धी जानकारीहरु संकलन गर्ने, छानबिन गर्ने र कारबाहीको लागि सम्बन्धित विभाग वा निकायमा जानकारी गराउने काम पनि यही विभागले गर्दछ । यसको लागि नेपालमा सम्पत्ति शुद्धीकरण ऐन २०६४ र सम्पत्ति शुद्धीकरण नियमावली २०६४ लागू गरिएको छ। यस बारे विस्तृत जानकारी बुझ्नु अगाडि सम्पत्ति शुद्धीकरण (Money Laundering) र सम्पत्ति शुद्धीकरण निवारण (Anti Money Laundering) भनेको के हो बुझ्नु जरुरी हुन्छ।
सम्पत्ति शुद्धीकरण (Money Laundering): गैरकानूनी रकम वा सम्पत्ति को श्रोत, स्थान र पहिचानलाई लुकाएर कानूनी रकम वा सम्पत्ति देखाउने उद्देश्यले गरिएको वित्तीय कारोबारलाई सम्पत्ति शुद्धीकरण भनिन्छ । अर्थात सिधा भाषामा भन्नुपर्दा black money लाई white money बनाउने कार्य नै सम्पत्ति शुद्धीकरण हो । यो कार्य व्यक्तिबाट हुने गर्दछ ।
सम्पत्ति शुद्धीकरण निवारण (Anti Money Laundering): गैरकानूनी रकम वा सम्पत्ति को श्रोत, स्थान र पहिचानलाई लुकाएर कानूनी रकम वा सम्पत्ति देखाउने उद्देश्यले गरिएको वित्तीय कारोबार वा अपराधलाई रोक्ने, पत्ता लगाउने, अनुसन्धान गर्ने र रिपोर्ट गर्ने कार्यलाई सम्पत्ति शुद्धीकरण निवारण भनिन्छ । अर्थात सिधा भाषामा भन्नुपर्दा black money लाई white money बनाउने कार्यलाई रोक्ने काम नै सम्पत्ति शुद्धीकरण निवारण हो । यो कार्य राज्यबाट हुने गर्दछ।
यसबाट के प्रष्ट हुन्छ भने सम्पत्ति शुद्धीकरण भनेको गैर कानूनी क्रियाकलाप हो भने सम्पत्ति शुद्धीकरण निवारण भनेको उक्त गैरकानूनी क्रियाकलापलाई रोक्ने कार्य हो। सम्पत्ति शुद्धीकरण कसरी हुन्छ, यसका चरणहरु के के हुन सक्छन भन्ने सन्दर्भमा सामान्यतया यसका ३ चरणहरु (stages) हुने गर्दछन् ।
• जम्मा गर्ने (Placement)
• थप गर्दै जाने (Layering)
• एकत्रित गर्ने (Integration)
जम्मा गर्ने (Placement): गैरकानूनी रुपमा रहेको रकम वा सम्पत्तिलाई वित्तीय प्रणालीको माध्यमबाट बैंकहरुमा जम्मा गर्ने कार्यलाई Placement भनिन्छ । अर्थात अवैध तरिकाले आर्जित रकम वा सम्पत्तिलाई बैंकमा जम्मा गर्ने कार्य नै Placement हो ।
थप गर्दै जाने (Layering): श्रोत नखुलेको रकम वा सम्पत्ति बैंकको खातामा जम्मा गरिसके पछि उक्त रकम वा सम्पत्तिलाई उक्त खाता मार्फत अन्य बैंकमा रहेको खातामा स्थान्तरण (Transfer) गर्ने कार्यलाई Layering भनिन्छ । सामान्यतया एक बैंकको खाताबाट अन्य बैंकको खातामा रकम स्थान्तरण भएको अवस्थामा उक्त रकमलाइ वैध वा कानूनी रुपमा आर्जित रकम मानिन्छ ।
एकत्रित गर्ने (Integration): Placement वा Layering को अवस्थामा पुगिसकेको रकमलाई उद्योग व्यापार क्षेत्रमा लगानी गर्ने, घर तथा जग्गा खरिद गर्ने, सवारी साधनहरु खरिद गर्ने आदि कार्यलाई Integration भनिन्छ।
अब प्रश्न उठ्न सक्छ, बीमा व्यवसायमा सम्पत्ति शुद्धीकरणको के कस्तो सम्भावना हुन सक्छ भनेर। बीमा व्यवसायमा यसको सम्भावना प्रचुर रहेको हुन्छ । अर्थात बीमाको माध्यमबाट पनि सम्पत्ति शुद्धीकरण हुनसक्छ जुन हुनु हुँदैन भन्ने मान्यता हो । गैरकानूनी रुपमा आर्जित रकमलाई बीमितले बीमाशुल्कको माध्यमबाट रकम लगानी गर्नसक्छन् । सानो आकारको बीमामा यस्तो सम्भावना कम भएपनि ठूलो आकारको बीमामा यो सम्भावना धेरै हुनसक्छ ।
ठूलो आकारको बीमा गरेर बीमाशुल्क धेरै बुझाउने अनि निश्चित अवधि पश्चात उक्त बीमालाई रद्द (surrender) गरी रकम फिर्ता लाने सम्भावना धेरै रहन्छ । यसरी बीमालाई रद्द (surrender) गरेर प्राप्त रकम शतप्रतिशत वैध हो । यति मात्र होइन, श्रोत खुल्न नसकेको रकमलाई बीमा शुल्कको माध्यमबाट बीमामा लगानी गर्दा बीमाको अवधि समाप्तीपछि प्राप्त हुने परिपक्व रकम (maturity value) जसमा विमांक र बोनस जोडिएको हुन्छ उक्त रकम पनि वैध मानिन्छ। यसरी सम्पत्ति शुद्धीकरण गर्ने हेतुले कुनै पनि व्यक्तिले रकमहरु बीमामा लगानी गर्न नसकोस् भन्नका लागि कम्पनी, कर्मचारी र अभिकर्ता चनाखो र सतर्क हुनुपर्छ । ग्राहकसंग अभिकर्ता प्रत्यक्ष सम्पर्कमा रहने हुनाले यस सन्दर्भमा अभिकर्ताको जिम्मेवारी तथा भूमिका अझ बढी हुन आउँछ । यसका लागि अभिकर्ताहरुले विशेषतः निम्न कुराहरुमा ध्यान दिनुपर्दछ।
१) आफ्नो ग्राहकलाई राम्ररी पहिचान गर्ने, ग्राहकले कुन श्रोतबाट बीमा शुल्क भुक्तान गर्न चाहेको हो सो निश्चित गर्ने ।
२) आर्थिक अवस्था सामान्य देखिने तर ठूलो आकारको बीमा लिन चाहेमा बिचार पऱ्याउने ।
३) बीमा शुल्कको भुक्तान बैकिंङ्ग माध्यमबाट गर्न नचाहेमा विचार गर्ने ।
४) व्यापार ब्यवसायको गतिविधिमा कुनै शंका लागेमा विचार गर्ने ।
५) व्यक्तिगत आचरण, रहनसहन तथा आनीबानी प्रति शंका लागेमा विचार पुयाउने।
६) बीमितले सम्पत्ति शुद्धीकरण गर्न खोजेको भन्ने आशंका लागेमा उसलाई अलिकसत पनि भनक नदिई तत्कालै कम्पनीमा जानकारी गराउनु पर्छ ।
सामान्यतया यी कुराहरुमा ध्यान पुयाउने हो भने बीमाशुल्कको माध्यमबाट सम्पत्ति शुद्धीकरण रोक्न सकिन्छ । कुनै पनि खरिद बिक्री वा लेनदेनको कारोबार गर्दा रु. एक लाख भन्दा माथिको रकमको लागि नेपाल राष्ट्र बैंकले नगदको सट्टा चेक प्रयोगको लागि आव्हान गरेको छ । सिटिजन लाइफले कुनै पनि वीमितको रु. एकलाख भन्दा बढीको बीमाशुल्क छ भने नगदलाई स्वीकार नगरी चेक माग गर्ने कारण पनि यही हो ।
तर जानीजानी बदनियतपूर्वक वा खराब मनसायले यदि कुनै पनि कर्मचारी वा अभिकर्ताले सम्पत्ति शुद्धीकरण कार्यमा बीमितलाई साथ दिएको वा सहयोग गरेको पाईएमा सम्पत्ति शुद्धीकरण ऐन २०६४ र सम्पत्ति शुद्धीकरण नियमावली २०६४ मा उल्लेख भए अनुसार निम्न दण्ड तथा जरिवानामा भागिदार हुनुपर्नेछ ।
१) जरिवाना, जेल सजाय वा दुबै हुन सक्छ।
२) अभिकर्ताको लाइसेन्स खारेजी हुन सक्छ ।
३) कानूनी प्रक्रिया (अदालत) मा जानुपर्ने सम्भावना हुन्छ जुन निकै महंगो र झन्झटिलो हुन सक्छ।
४) देशको कुनै पनि क्षेत्रमा व्यापार व्यवसाय गर्न नपाइने हुन सक्छ ।
५) आर्जित रकम तथा सम्पत्ति जफत हुन सक्छ ।
यसरी नेपालको कानूनमै यस प्रकारको व्यवस्था भएको हुनाले कुनैपनि कर्मचारी एवं अभिकर्ताले यस सम्बन्धमा धेरै चनाखो भएर काम गर्नुपर्छ ताकी भोलीको दिनमा कुनैपनि किसिमको दण्ड सजाय पनि भोग्न नपरोस र आफ्नो इज्जत तथा प्रतिष्ठा पनि कायम रहोस् ।