
काठमाडौं । देशको अर्थतन्त्र खराब हुँदै गइरहेको बेला बैंक ब्याजदर पनि बृद्धि भएको छ। राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको पुस मसान्तसम्मको तथ्यांक अनुसार आधार ब्याज दर नै ८.४२ प्रतिशत नाघेको छ।
शोधनान्तर घाटा २४१ अर्ब, चालु खाता घाटा ३५४ अर्ब नाघेर बिदेशी मुद्रा सञ्चितिसँगै रेमिटेन्स बृद्धि दर घटिरहेका बेला आन्तरिक उत्पादनलाई असर गर्ने बैंक ऋणको ब्याज भने बढिरहेको छ।
गतवर्ष पुसमा आधार ब्याज दर ७.१८ प्रतिशत थियो। त्यस हिसाबले बैंकको ऋण १.२४ प्रतिशत बिन्दुले बृद्धि भइसकेको छ। यो पुराना ऋणीको हकमा हो। नयाँ ऋणीसँग स्प्रेड कम भएका कारण बैंकहरुले अझमाथि ब्याज बढाएका छन्।
निक्षेपको औषत ब्याज दर नै ५ प्रतिशतबाट बढेर ६.३७ प्रतिशत पुगेको छ। गत जेठमा बैंकहरुको आधार दर, निक्षेप तथा ऋणको ब्याज निक्कै कममा आएको थियो। जेठमा निक्षेपको ब्याज ४.७२ प्रतिशतमा झरेको थियो।
ऋणको पनि ८.४६ प्रतिशतमा आएको थियो। आधार दर ६.६६ प्रतिशतमा आएको थियो। त्यस हिसाबले ऋणको ब्याज दर १.७६ प्रतिशत बिन्दुले बढिसकेको छ।