
काठमाडौं । नेपालमा दूरसंचार कम्पनीहरु आक्रामक रुपमा फोरजी विस्तारमा लाग्दा थ्रीजी ग्राहकहरुको संख्या क्रमिक रुपमा ओरालो लाग्दै गएको छ। बजारमा फोरजी सपोर्ट गर्ने फोनको सहज उपलब्धताका कारण पनि थ्रीजी प्रयोगकर्ता घट्दै गएको कम्पनीहरुले जनाएका छन्।
नेपालभर मंसिरमा टेलिकमका फोरजी ग्राहक संख्या झण्डै सात लाखले थपिएका छन्। नेपाल दूरसंचार प्राधिकरणको पछिल्लो प्रतिवेदन अनुसार गत कात्तिकमा एक करोड ३७ लाख ८७ हजार ४१९ रहेको फोरजी ग्राहक संख्या मंसिरमा बढेर एक करोड ४४ लाख ८३ हजार ६५६ पुगेको देखिन्छ।
६ लाख ८८ हजार ८३९ फोरजी ग्राहक थपेर नेपाल टेलिकमले मंसिरमा ८१ लाख ७४ हजार २६९ पुर्याएको टेलिकमले जनाएको छ। कात्तिकमा टेलिकमसँग ७४ लाख ८५ हजार ४३० फोरजी ग्राहक थिए।
कुनै समय टेलिकमलाई निकै पछि पारेको निजी क्षेत्रको दूरसंचार सेवा प्रदायक एनसेल अहिले भने २० लाखभन्दा बढीले पछि परेको छ। मंसिरमा एनसेलले जम्मा ३४७ नयाँ फोरजी ग्राहक थपेको प्राधिकरणले जनाएको छ।
कात्तिकमा ६१ लाख ४८ हजार २४४ फोरजी ग्राहक रहेको एनसेलले झिनो ग्राहक संख्या थप्दै मंसिरमा ६१ लाख ४८ हजार ५९१ पुर्याएको प्राधिकरणले जनाएको छ। त्यसैगरी, स्मार्ट टेलिकमले एकै महिना सात हजारभन्दा बढी फोरजी ग्राहक थपेको छ।
कात्तिकमा एक लाख ५३ हजार ७४५ फोरजी ग्राहक रहेको स्मार्टले मंसिरमा एक लाख ६० हजार ७९६ फोरजी ग्राहक पुर्याएको प्राधिकरणले जनाएको छ।
कात्तिकमा टेलिकम र एनसेल गरी देशभर एक करोड २४ लाख ५२ हजार ७३३ थ्रीजी ग्राहक थिए। मंसिरमा एक लाख ६८ हजार ९८३ ले घटेर थ्रीजी ग्राहक एक करोड २२ लाख ८३ हजार ७५० पुगेको प्राधिकरणले जनाएको छ।
थ्रीजी ग्राहक घटाउने मामलामा भने एनसेल अघि देखिन्छ। कात्तिकमा २२ लाख ८३ हजार ७७६ थ्रीजी ग्राहक रहेको एनसेलले मंसिरमा ८६ हजार २४८ ले घटाएर २१ लाख ९७ हजार ५२८ पुर्याएको प्राधिकरणले जनाएको छ। मंसिरमा टेलिकमको थ्रीजी ग्राहक भने ८२ हजार ७३५ ले घटेर एक करोड एक लाख ६८ हजार ९५७ मा आइपुगेको छ।