२०८२ बैशाख ११ बिहीबार

काठमाडौं । भारतदेखि नक्कली रक्सी ल्याएर काठमाडौंमा बेच्ने गरेको आरोपमा ४ जना पक्राउ परेका छन् । पक्राउ परेकाहरुले नक्कली स्टिकर टाँसेर विभिन्न होटलहरुमा अवैध बिक्री गर्दै आएको पाइएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

उनीहरुले भारतकै दुई नागरिकको योजनामा राजश्व नतिरी नक्कली रक्सी ल्याउने र काठमाडौंका ठूलठूला होटलमा बेच्ने गरेको पाइएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनीहरुले रवि भन्ने भारतीय नागरिक र सन्तोषचन्द्रको योजनामा भारतबाट राजश्व नतिरी रक्सी ल्याउने गरेको खुलेको हो । उनीहरूले भारतबाट विभिन्न ब्राण्डका रक्सीहरु ल्याउने र अवैध रुपमा काठमाडौं ल्याएर विभिन्न होटलमा ल्याएर बेच्ने गरेका थिए ।

नक्कली रक्सीलाई सक्कली स्टिकर

उनीहरुले नक्कली रक्सीलाई सक्कली रक्सीको स्टिकर टाँसेर बजारमा पुर्याउने गरेको महानगरीय अपराध महाशाखाले जनाएको छ ।भारतबाट चिभास, रेड तथा ब्ल्याक लेबल लगायतका ब्रान्ड रक्सीहरूको नक्कली स्ट्रिकर प्रयोग गरेर बिक्री गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको थियो ।

ती गिरोहबाट बेचिएका नक्कली रक्सीहरु उपत्यकाका विभिन्न स्थानबाट बरामद गरिएको प्रहरीको भनाइ छ । रामकोट, बानेश्वर, कपन लगायतका विभिन्न स्थानहरूबाट गरी जम्मा २९६ कार्टुन मदिराहरू बरामद गरिएको महानगरीय अपराध महाशखाले जनाएको छ ।

पक्राउ परेकामध्ये सन्तोष चन्द्र बख्रेलले विगत ३ महिनाभित्र ६६० कार्टुन ब्ल्याक लेवल, रेड लेवल, चिभास रिगल र ऐब्सुलेट भोड्का ल्याएर अवैध रुपमा विक्री गरेको खुलेको प्रहरीले जनाएको छ ।

उनले उक्त अवैध रक्सी बिक्र गर्नका लागि ईन्फिनिटि लिक्योर, मुलपानीका संचालक शैलेश पन्तको साथ लिएर बिक्री गरेको पाइएकोले पन्तलाई पनि नियन्त्रणमा लिइएको बताएको छ । त्यस्तै नारायण प्रसाद घिमिरेले भने रक्सी ब्राण्डका मदिराहरूको मार्केटिङ गर्ने गरेका थिए ।

प्रहरीको अनुसन्धान

नेपाल प्रहरीले सुरुमा भारतबाट नेपालमा नक्कली ब्रान्डमा रक्सी आइरहेको एक स्रोतबाट पत्तो पायो । त्यसपछि प्रहरीले सामान्य खुद्रा पसलमा पुगेर अनुसन्धान गरेको थियो । अनुसन्धानकै क्रममा काठमाडौं सीतापाइलास्थित एक घरमा व्यवस्थित तरिकाले ती अवैध रक्सीहरु स्टोर गरेर राखेको पत्तो लाग्यो । त्यहीबाट प्रहरीले नै ग्राहक बनेर १४ कार्टुन रक्सी मगायो ।

त्यसपछि प्रहरीले नै ७ सय ५० एमएलको रक्सी २ हजार देखि २५ सय सम्म मूल्यको भएको तथ्य फेला पार्यो । अनुसन्धानका क्रममा फेला पारेको घरमा करिब डेढ करोड भन्दा बढीको रक्सी रहेको खुलेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर