२०८१ माघ २ बुधबार

काठमाडौं । कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको प्रभावका कारण अन्तर्राष्ट्रिय उडानमा २५ प्रतिशतसम्म गिरावट आएको छ। नियमित उडान गर्दै आएका नेपाल वायुसेवा निगम, हिमालय एयरलाइन्स, कतार एयरवेज, फ्लाइ दुबई, टर्किस एयरलाइन्स, मलेसियन एयरलाइन्सलगायत वायुसेवा कम्पनीले पछिल्लो समय उडान संख्या नै घटाउन थालेका छन्।

ओमिक्रोन संक्रमण फैलिनुअघि दैनिक करिब ४० वटा उडान हुँदै आएको थियो। एक सातायता दैनिक उडान २७ वटा उडान हुन थालेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ।

विभिन्न मुलुकले तयार पारेको स्वास्थ्य सुरक्षा मापदण्ड र ओमिक्रोन संक्रमण गतिका कारण भ्रमणकै लागि आउजाउ गर्ने यात्रुको संख्या क्रमिकरूपमा घट्दै गएको वायुसेवा कम्पनीले जनाएका छन्।

सरकारले खाडी मुलुक र मलेसियामा भिजिट भिसामार्फत हुँदै आएको भ्रमणमा नयाँ मापदण्ड लागू गरिदिएसँगै यतिखेर यात्रु माग नै कम भएको नेपाल वायुसेवा निगमले जानएको छ। निगमले यात्रुको लोड अनुसार कतार, दुबई, मलेसिया लगायतका गन्तव्यमा गर्दै आएका उडान नै रद्द गर्दै आएको प्रवक्ता अर्चना खड्काले बताइन्।

ओमिक्रोन संक्रमण फैलिनु अगाडि यात्रुको माग ह्वात्तै बढ्दा साताको नौ-नौ वटा उडान हुँदै आएको दुबई र कतारमा यतिखेर सात-सात वटा मात्रै उडान भइरहेको उनले जानकारी दिइन्।

पछिल्लो समय हिमालय एयरलाइन्सको उडानमा यात्रु माग नै २५ प्रतिशतले घटेको उपाध्यक्ष विजय श्रेष्ठले बताए। ‘अहिले सबै गन्तव्यमा उडान घटेको छ। बुकिङसँगै यात्रु र उडान संख्या घटेको अवस्था छ’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय