२०८१ मंसिर २३ आईतवार

काठमाडौं । नेपाल राष्ट्र बैंकले विकास ऋण-पत्रमार्फत १० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ । चार वर्षे अवधिका लागि राष्ट्र बैंकले सार्वजनिक बोलकबोल मार्फत १० अर्ब बराबरको ‘विकास ऋणपत्र २०८२ ‘ङ’ जारी गर्न लागेको हो ।

एक सूचना जारी गर्दै ऋणपत्रका लागि आह्वान गरेको बैंकले ऋणपत्र २०७८ माग १७ गते जारी भएर २०८२ माघ १७ गते परिपक्‍व हुने जनाएको छ ।

यद्यपि, ऋणपत्रको ब्याज भने लगानीकर्ताहरूले छ/छ महिना अर्थात् अर्धवार्षिक रुपमा भुक्तानी पाउने बैंकले जनाएको छ ।इच्छुक बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकहरुले आइतबार अर्थात् आज दिउँसो २ बजेसम्म आवेदन दिन सक्नेछन् ।

खुल्ला प्रतिस्पर्धाबाट ऋणपत्रमा वितरण गरिने भएपनि कुल ऋणपत्रको १५ प्रतिशत विना प्रतिस्पर्धाका आधारमा वितरण गरिने बैंकले बताएको छ । अर्थात् कुल १० अर्बको विकास ऋणपत्रमा ८ अर्ब ५० करोड खुल्ला प्रतिस्पर्धाबाट र बाँकी १ अर्ब ५० करोड विना प्रतिस्पर्धाबाट वितरण गरिनेछ ।

लगानीकर्ताले घटीमा ५० हजार र बढीमा कुल निष्कासित रकमको सीमामा नबढाई ५० हजारले भाग गर्दा निःशेष भाग जाने अंकमा ऋणपत्रका लागि माग आवेदन दिन सक्नेछन् ।

ऋणपत्र बोलवालाले कबोल गरेको ब्याजदरलाई सानोदेखि ठूलो क्रममा मिलाएर बाँडफाँड गरिने रकमसम्ममा कायम ‘कट अफ’ ब्याजदरलाई एकल ब्याजदर कायम गरी सोही एकल ब्याजदरमा सो ब्याजदर र सो ब्याजदरभन्दा तलका सबै बोलवालाहरुलाई ऋणपत्र उपलब्ध गराइने बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय