काठमाडौँ । राष्ट्रिय वाणिज्य बैङ्क ५७ औँ वर्षमा प्रवेश गरेको छ । देशकै दोस्रो वाणिज्य बैङ्कको रुपमा २०२२ साल माघ १० गते बैङ्कको स्थापना भएको थियो । त्यतिबेला नेपाल सरकारको पूर्ण स्वामित्वमा स्थापना गरिएको राष्ट्रिय वाणिज्य बैङ्क २०६३ वैशाख ६ गतेदेखि भने पब्लिक लिमिटेड कम्पनीको रुपमा सञ्चालन हुँदै आएको छ ।
नेपाल सरकारको एक करोड अधिकृत शेयर पुँजी तथा २५ लाख चुक्ता शेयर पुँजी लगानीमा स्थापना भएको राष्ट्रिय वाणिज्य बैङ्क लामो अवधिसम्म पूर्ण सरकारी स्वामित्वमा सञ्चालन रहँदै आएको थियो । २०७५ वैशाख १८ गते एनआइडीसी डेभलपमेन्ट बैङ्क गाभिएपछि बैङ्कमा नेपाल सरकारको ९९.९७ प्रतिशत र सर्वसाधारण सेयरधनीको ०.०३ प्रतिशत सेयर स्वामित्व कायम छ ।
यस बैङ्कले सर्वसाधारण तथा संस्थागत गरी ३४ लाख बढी निक्षेपकर्ताहरूबाट २०७८ पुस मसान्तसम्ममा २ खर्ब ४५ अर्ब निक्षेप परिचालन गरेको छ । साथै २०७८ पुस मसान्तसम्ममा २ खर्ब १४ अर्बभन्दा बढी कर्जा प्रवाह गरेको बैङ्कले जनाएको छ । बैङ्कको निष्क्रिय कर्जा अनुपात ३.२३ प्रतिशत रहेको छ ।
बैङ्कले गत आर्थिक वर्ष २०७७/०७८ मा ३ अर्ब ४२ करोडभन्दा बढी खुद नाफा आर्जन गरेको थियो । नाफाबाट सेयर धनीहरूलाई सोही आर्थिक वर्षमा ३० प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद गरी ३३ प्रतिशत लाभांश वितरण गरेको थियो ।