२०८१ माघ ११ शुक्रबार

काठमाडौं । कोरोनालगायतका कारण अन्य उत्पादनमूलक क्षेत्र प्रभावित भए पनि बैंकिङ क्षेत्रले उच्च मुनाफा आर्जन गरेका छन् । २३ वाणिज्य बैंकहरूले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७८/०७९ को दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार छ महिना अर्थात् साउनदेखि पुससम्ममा २९ अर्ब ५९ करोड रुपैयाँ मुनाफा कमाएका हुन् ।

सो अवधिमा वाणिज्य बैंकको औसत मुनाफा ११.६४ प्रतिशत रहेको छ । अघिल्लो आवको सोही अवधिमा २६ अर्ब ५० करोडमात्रै मुनाफा कमाएका थिए । सञ्चालनमा रहेका २७ वाणिज्य बैंकमध्ये सनराइज, एनएमबी, हिमालयन र नेपाल बैंकले भने वित्तीय विवरण सार्वजनिक गरिसकेका छैनन् ।

ग्लोबल आइएमई बैंकले सबैभन्दा धेरै दुई अर्ब ६६ करोड ३३ लाख खुद मुनाफा कमाएको छ भने सबैभन्दा कम सिभिल बैंकले ५० करोड ४० लाख रुपैयाँ खुद मुनाफा कमाएको छ । दोस्रो स्थानमा रहेको एनआइसी एसिया बैंकले दुई अर्ब ४० करोड २० लाख ६६ हजार रुपैयाँ मुनाफा कमाएको छ । त्यस्तै तेस्रो स्थानमा रहेको नबिल बैंकको मुनाफा दुई अर्ब १८ करोड १४ लाख २० हजार रुपैयाँ रहेको छ ।

तर, पाँचवटा बैंकको नाफा भने घटेको छ । प्रभु बैंक, एभरेष्ट बैंक, नेपाल बंगलादेश बैंक, कुमारी बैंक र प्राइम बैंकको नाफा घटेको हो । तथापि प्रभु र प्राइम बैंकको नाफा एक अर्बभन्दा माथि नै रहेको छ । प्रभुको एक अर्ब २६ करोड २० लाख १० हजार रुपैयाँ रहेको छ भने प्राइमको एक अर्ब ६७ करोड ८५ लाख ८९ हजार रुपैयाँ रहेको छ ।

अर्बभन्दा कम नाफा कमाउने नौ बैंकमा सिभिल, सेञ्चुरी, लक्ष्मी, नेपाल एसबीआई, एनसिसी, बैंक अफ काठमाण्डू, कुमारी, नेपाल बंगलादेश, एभरेष्ट बैंक रहेका छन् । तर, सिभिल बैंकले गत आवको दोस्रो त्रैमासको तुलनामा १४८.४२ प्रतिशतले नाफा बढाएको छ । त्यस्तै सिद्धार्थले पनि ७१.६८ प्रतिशतले नाफा बढाएको छ । सेञ्चुरी र नेपाल एसबिआई बैंकले क्रमशः ५४.७७ र ५२.०४ प्रतिशतले नाफा बढाएका छन् भने लक्ष्मीले १.२७ प्रतिशतले मात्रै नाफा बढाउन सकेको छ ।

त्यस्तै राष्ट्रिय वाणिज्य बैंक एक अर्ब ९१ करोड, इन्भेष्टमेन्ट बैंक एक अर्ब ६२ करोड, कृषि विकास बैंक एक अर्ब ४२ करोड, मेगा बैंक एक अर्ब ३९ करोड, सिटिजन्स एक अर्ब २३ करोड, स्ट्यान्डर्ड चार्टर्ड एक अर्ब आठ करोड, सानिमा बैंक एक अर्ब सात करोड र माछापुच्छ«े बैंकले एक अर्ब एक करोड नाफा कमाएका छन् ।

सात विकास बैंकको नाफामा बढोत्तरी
१० वटा विकास बैंकले पनि छ महिनाको वित्तीय विवरण सार्वजनिक गरेका छन् । मुक्तिनाथ, गरिमा, महालक्ष्मी, लुम्बिनी, साइन रेसुङ्गा, ज्योति, कामना सेवा, सांग्रिला, मितेरी र सिन्धु विकास बैंकले वित्तीय विवरण सार्वजनिक गरेका हुन् ।

जसमध्ये सातवटाको नाफा बढेको छ भने तीनवटाको घटेको छ । मितेरी, कामना सेवा र मुक्तिनाथ विकास बैंकबाहेकको नाफा बढेको हो । मुक्तिनाथ विकास बैंकले सबैभन्दा बढी ६० करोड २४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । तर, गत आवको सोही अवधिको तुलनामा भने २.१४ प्रतिशतले कम हो ।

सांग्रिला डेभलपमेन्टले २४ करोड ५१ लाख नाफा कमाएको छ, गत आवमा १८ करोड ७१ लाख रुपैयाँमात्रै थियो । सिन्धु विकास बैंकले तीन करोड ५५ लाख रुपैयाँ नाफा कमाएको छ, जुन गत आवभन्दा ४.७२ प्रतिशतले बढी हो । तर, कामना सेवाको भने गत वर्षको तुलनामा ११.९० प्रतिशतले नाफा घटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय