
काठमाडौं । चालु आर्थिक वर्षको छ महिनामा कुल १ खर्ब ६ अर्ब रुपैयाँको पुनर्कर्जा स्वीकृत भएको छ। नेपाल राष्ट्र बैंकको पुस मसान्तसम्मको तथ्यांक अनुसार २४ हजार २६७ कम्पनीहरूले ४३ वटा बैंक तथा वित्तीय संस्थाहरूबाट एक खर्ब ६ अर्ब ८ करोड रुपैयाँ बराबरको पुनर्कर्जाका लागि स्वीकृति प्राप्त गरेका हुन्।
ग्राहकको मूल्यांकनका आधारमा प्रदान गरिने पुनर्कर्जामा समावेश १०२ ऋणी कम्पनीहरूले ३० विभिन्न वित्तीय संस्थानहरूमार्फत १३ अर्ब ६२ करोड रुपैयाँ पुनर्कर्जाको स्वीकृति पाएका छन्।
मूल्यांकनका आधारमा प्रदान गरिने उक्त पुनर्कर्जाअन्तर्गत विशेष पुनर्कर्जातर्फ २० व्यवसायी/फर्म/कम्पनीहरूले १३ वटा बैंक तथा वित्तीय संस्थाबाट ३ अर्ब ५० करोड रुपैयाँ पाएका छन्। त्यस्तै, साधारणतर्फ ८२ व्यवसायिक संघले २८ वित्तीय संस्थानहरूमार्फत १० अर्ब १२ करोड रुपैयाँको स्वीकृति प्राप्त गरेका छन्।
एकमुष्ट प्रदान गरिने कर्जा (क, ख र ग वर्गका संस्था) मा समावेश २४ हजार १६५ ग्राहक ऋणी संघहरूले ४२ वटा बैंक तथा वित्तीय संस्थाबाट ९२ अर्ब ४६ करोड रुपैयाँ पुनर्कर्जाका लागि स्वीकृति पाएका छन्। यस अन्तर्गत लघु घरेलु तथा साना उद्यमतर्फ ९ हजार ४८६ व्यवसायहरूको ८ अर्ब १० करोड रुपैयाँ स्वीकृत भएको छ।
एकमुष्ट प्रदान गरिने उक्त पुनर्कर्जा अन्तर्गत विशेष पुनर्कर्जातर्फ १ हजार ६८७ व्यवसायहरूले ८ अर्ब ७९ करोड रुपैयाँ र साधारण पुनर्कर्जातर्फ १२ हजार ९९२ व्यवसायिक संघले ७५ अर्ब ५८ करोड रुपैयाँको स्वीकृति प्राप्त गरेका छन्।
क्षेत्रगत आधारमा सबैभन्दा बढी पुनर्कर्जा पर्यटन क्षेत्रले प्राप्त गरेको तथ्याङ्कले देखाएको छ। पुस महिनासम्मको तथ्यांकका आधारमा पर्यटन क्षेत्रमा मात्रै ६ अर्ब ७९ करोड २२ लाख रुपैयाँको पुनर्कर्जा स्वीकृत भएको छ। यो कुल कर्जाको ४९.८९ प्रतिशत हुन आउँछ।
त्यस पश्चात् दोस्रो बढी पुनर्कर्जा स्वीकृत भएको क्षेत्र जलविद्युत हो । यस क्षेत्रमा ३ अर्ब २४ करोड ५ लाख रुपैयाँको पुनर्कर्जा प्रदान भएको छ। सर्वाधिक कम पुनर्कर्जा भने कपडा क्षेत्रका लागि स्वीकृत भएको छ।
यस क्षेत्रका लागि कुल पुनर्कर्जा मात्र ०.४० प्रतिशत रकम स्वीकृत भएको तथ्यांकले देखाएको छ। बैंक तथा वित्तीय संस्थाले प्रदान गरेको असल कर्जाको सुरक्षणमा नेपाल राष्ट्र बैंकबाट निश्चित अवधिको लागि बैंक तथा वित्तीय संस्थालाई उपलब्ध गराइने कर्जा नै पुनर्कर्जा हो।