काठमाडौं। भारतमा उत्पादित हिरो इलेक्ट्रिक स्कुटर नेपाली बजारमा सार्वजनिक भएको छ।नेपालका लागि आधिकारिक विक्रेताको रुपमा लक्ष्मी ग्रुपको भगिनी संस्था लक्ष्मी ई मोबिलिटीले नेपालमा हिरो इलेक्ट्रिक स्कुटरको बिक्री सुरु गरेको हो।
टेकुस्थित पहिलो हिरो इलेक्ट्रिक स्कुटरको शोरुममार्फत यी स्कुटर बिक्री वितरण हुने कम्पनीले जनाएको छ। इलेक्ट्रिक मोबिलिटीलाई प्राथमिकता दिँदै कम्पनीले इलेक्ट्रिक स्कुटरको बिक्री बितरण प्रारम्भ गरेको कम्पनीले जारी गरेको बिज्ञप्तीमा उल्लेख छ ।
कम्पनीले नेपाली बजारमा एन वाई एक्स, फोटोन र सिंगल ब्याट्री तथा डबल ब्याट्रीसहितको अप्टिमा गरी चार मोडलका इलेक्ट्रिक स्कुटर उपलब्ध गराएको छ। कम्पनीका अनुसार हिरो स्कुटरले एक पटक फुल चार्ज गरेपछि ८२ किलोमिटर देखि १६५ किलोमिटर सम्मको रेन्ज दिन्छ।
भारतमा हिरो इलेक्ट्रिकका १२ मोडल उपलब्ध छन् । नेपाली बजारमा हाल चार मोडल उपलब्ध गराइएको र आगामी दिनमा अन्य मोडल समेत क्रमशः उपलब्ध गराउने कम्पनीले जानकारी दिएको छ।