काठमाडौँ । चालु आर्थिक वर्ष २०७८/७९ को अर्धवार्षिक समीक्षा अवधिमा आन्तरिक राजस्वतर्फ अन्तःशुल्कबाहेक अरु सबै शीर्षकको असुली लक्ष्यभन्दा कम देखिएको छ ।
आन्तरिक राजस्व विभागका अनुसार पुस मसान्तसम्ममा कुल २ खर्ब २५ अर्ब ६७ करोड ९० लाख रुपैयाँ बराबर आन्तरिक राजस्व असुली भएको छ ।जसमा सबैभन्दा धेरै आयकरतर्फ १ खर्ब २० अर्ब ९७ करोड १६ लाख अर्थात अर्धवार्षिक लक्ष्यको ९२ प्रतिशत बराबर असुली भएको छ ।
पुस मसान्तसम्ममा आन्तरिक राजस्वतर्फ २ खर्ब ४१ अर्ब ७१ करोड ४० लाख रुपैयाँ असुली गर्ने सरकारी लक्ष्य थियो ।यस अवधिमा संकलन भएको मूल्य अभिवृद्धिकर (भ्याट) ५३ अर्ब ५२ करोड १९ लाख रुपैयाँ बराबर छ ।
यो रकम पुस मसान्तसम्मका लागि भ्याट संकलनमा राखिएको लक्ष्यको ८७ प्रतिशत बराबर हो । आयकर र भ्याट असुली लक्ष्यभन्दा कम रहेपछि यहीं अवधिमा आन्तरिकतर्फतको अन्तःशुल्क कर भने लक्ष्यअनुरुप नै उठेको विभागले जनाएको छ ।
हालसम्म अन्तःशुल्कबाट ७४ अर्ब ७१ करोड ९८ लाख रुपैयाँ बराबर उठेको र यो असुली अन्तःशुल्कतर्फ राखेको अर्धवार्षिक लक्ष्यको शतप्रतिशत रहेको विभागले जनाएको छ ।
त्यस्तै, हालसम्ममा स्वास्थ्य सेवा करतर्फ २ अर्ब ९७ करोड अर्थात हालसम्मको लक्ष्यको २०३ प्रतिशत र शिक्षा सेवाकरतर्फ २८ करोड २० लाख अर्थात हालसम्मको लक्ष्यको ५६ प्रतिशत बराबर उठेको छ ।