काठमाडौं । कोरोना महामारीको प्रभावपछि पर्यटनले गति लिन थालेपछि विदेशी पर्यटनले लय समात्न लागेको छ । पछिल्लो समय विदेशी पर्यटक आगमन बढ्दै गएको छ । पर्यटक आगमनसँगै आम्दानी पनि बढ्दै गएको छ । यद्यपि पछिल्लो समय बढेको कोरोनाको ओमिक्रोन भेरियन्टले पर्यटनको वेगमा ब्रेक लगाउने देखिएको छ ।
भाइरस संक्रमण बढ्दै गएपछि सरकारले विदेशीलाई आगमनमा कडाइ गरेको छ । यसको असर पर्यटन आगमन तथा आम्दानीमा पर्ने छ । चालु वर्षको पहिलो पाँच महिनामा नेपालले पर्यटकबाट ७ अर्ब ८७ करोड ४४ लाख रुपैयाँ बराबरको आम्दानी गरेको छ ।
यो कोरोना अघिको तुलनामा जम्मा २२ प्रतिशत हो। आर्थिक वर्ष २०७६/७७ को पाँच महिनामा नेपालले पर्यटकबाट ३५ अर्ब ५५ करोड रुपैयाँ आम्दानी गरेको थियो । विदेशी पर्यटकबाट हुने आम्दानीमा सुधार हुन नसके पनि नेपालीहरुले घुमफिरका लागि विदेशमा गर्ने खर्चको अनुपातमा भने वृद्धि भएको छ ।
नेपालीहरुले घुमफिरका लागि भन्दै यो वर्षको पाँच महिनामा १० अर्ब रुपैयाँ खर्चिएका छन्। यो कोरोनाअघिको खर्चको ५० प्रतिशत हो । विदेशी पर्यटकबाट हुने आम्दानी अझै सुस्त हुने देखिन्छ । नेपाल राष्ट्र बैंकले सटहीमा कडाइ गरेपनि नेपालीले घुमफिरका लागि विदेशमा गर्ने खर्चको वृद्धिदर भने बढीरहेको छ ।