काठमाडौं । नेपालस्थित अष्ट्रेलियाली राजदूत फेलिसिटी भोल्कले कोरोनाले दुई वर्षको चुनौतीपूर्ण समयपछि नेपाली विद्यार्थीलाई अष्ट्रेलियामा स्वागत गर्न पाउँदा उत्साहित भएको बताउनुभएको छ ।
स्टडी इन अष्ट्रेलिया भन्ने नाराका साथ काठमाडौंमा आयोजित प्रथम अष्ट्रेलियन शैक्षिक मेला २०२२ को उद्घाटन गर्दै उहाँले कोरोना खोप लिएका विद्यार्थीलाई अध्ययनका लागि अष्ट्रेलिया डिसेम्बरदेखि खुला भएको जानकारी दिनुभयो ।
नेपाली विद्यार्थीलाई गुणस्तरीय शिक्षा दिन अष्ट्रेलिया प्रतिबद्घ रहेको उहाँको भनाइ थियो । नोभा एजुकेसन एन्ड कन्सल्टिङ सर्भिसेजले नयाँ वानेश्वरस्थित एभरेष्ट होटलमा शैक्षिक मेला आयोजना गरेको हो ।
मेलामा अष्ट्रेलियाको कलेज र युनिभर्सिटीका साथै शैक्षिक ऋण र बिमा सेवासमेत गरी १५ वटा संस्थाको सहभागिता रहेको नोभाका कार्यकारी निर्देशक रमण कोइरालाले बताउनुभयो ।
आयोजकका अनुसार मेलामा सहभागी एक सय विद्यार्थीलाई निःशुल्क आइएलटिएस वा पिटिई कक्षा उपलब्ध गराइएको थियो भने र एक भाग्यशाली विजेतालाई अष्ट्रेलियाको निःशुल्क हवाई टिकट दिइनेछ ।