
काठमाडौं । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघको अध्यक्षमा म्यारीगोल्ड ज्वेलर्सका सञ्चालक सुरेशमान श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ । पुस २४ गते हुने वार्षिक साधारणसभाको निर्वाचनका लागि मंगलबारसम्म उम्मेदवारीको समय रहेकोमा श्रेष्ठको मात्र उम्मेदवारी परेको थियो ।
श्रेष्ठ रत्न तथा आभूषण संघका संस्थापक अध्यक्षसमेत हुनुहुन्छ । महासंघका पूर्वअध्यक्ष रमेश महर्जनको कोरोनाका कारण निधन भएपछि अध्यक्ष पद रिक्त रहेको थियो । महासंघ देशभरका सुनचाँदी तथा रत्न, पत्थर व्यवसायीको छाता संगठन हो ।