२०८१ चैत्र २ शनिबार

काठमाडौं । सरकारले उद्योगलाई चाहिनेजति विद्युत् उपलब्ध गराउने बताउँदै आए पनि अझै पनि ६१ प्रतिशतभन्दा बढी उद्योग जेनेरेटर विद्युत् मै निर्भर रहेको बताइएको छ ।

नेपाल उद्योग परिसंघको अध्ययनले अहिले पनि ६१.८ प्रतिशत उद्योगले ऊर्जाका लागि जेनेरेटर सञ्चालन गर्ने गरेको देखाएको छ । जसका कारण उद्योगको लागत मासिक पाँच प्रतिशतले बढ्न गएको छ । तथापि कोरोना प्रभाव कम हुँदै जाँदा नेपाली उद्योगको क्षमता उपयोग भने बढेको छ ।

गत आर्थिक वर्षको अन्तिम त्रैमासिक अवधिको तुलनामा चालु आर्थिक वर्षमा उद्योगको क्षमता उपयोगमा उल्लेख्य सुधार भएको हो । प्रतिवेदनअनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमासमा उद्योगले कुल क्षमताको ७०.५ प्रतिशत उपयोग गरेका छन् । जुन गत आर्थिक वर्षको अन्तिम त्रैमासिक अवधिमा ६४.८ प्रतिशत थियो ।

अध्ययनअनुसार उत्पादनमूलक उद्योगको आयमा पनि सुधार भएको छ । अघिल्लो आर्थिक वर्ष २०७७/०७८ को प्रथम त्रैमासको तुलनामा चालु आर्थिक वर्ष २०७८/०७९ को सोही अवधिमा उद्योगको आय वृद्धिदर ४१.१५ प्रतिशत रहेको छ ।

अध्ययन अवधिमा कृषि क्षेत्रका उद्योगले औसत ८.७ प्रतिशत, ऊर्जा क्षेत्रका उद्योगले औसत ७.७ प्रतिशत, उत्पादनमूलकले औसतमा ८.७ प्रतिशत र सेवा क्षेत्रका उद्योगले औसतमा ८.२ प्रतिशत व्याज तिरेका छन् ।

उत्पादनमूलक उद्योगले चालु पुँजीको ५४.१ प्रतिशत बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएको अध्ययनले देखाएको छ । अध्ययनमा सहभागीमध्ये ६१.७ प्रतिशत उद्योगीले नयाँ लगानीका लागि आफू तयार रहेको बताएका छन् । त्यस्ता उद्योगी गत वर्षको अन्तिम त्रैमासमा ८३ प्रतिशत थिए ।

प्रमुख औद्योगिक क्षेत्रका गतिविधि अध्ययन गरेर परिसंघले ‘औद्योगिक अवस्थिति प्रतिवेदन’ को दोस्रो संस्करण सार्वजनिक गरेको हो । परिसंघले त्रैमासिकरूपमा सार्वजनिक गर्ने प्रतिवेदनको दोस्रो अंक उद्योग सचिव अर्जुनप्रसाद पोखरेलले सार्वजनिक गर्नुभएको थियो ।

परिसंघअन्तर्गतको रिसर्च सेलले ६२ उद्योगमा सर्वेक्षणका आधारमा प्रतिवेदन तयार गरेको जानकारी गराउँदै प्रतिवेदनले नेपालमा तथ्यमा आधारित नीति तर्जुमाका लागि सहयोग गर्ने विश्वास व्यक्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय