काठमाडौं । काठमाडौंको हात्तिगौँडामा रहेको होटल सब्रिनाले ‘बेष्ट नेपाल होटल अवार्ड’ पाएको छ । होटल क्रिटिक्स एण्ड ब्लगर्स एसोसिएसनको सहकार्यमा वल्डवाइड बेष्ट होटल डटकमले उक्त अवार्ड प्रदान गरेको हो ।
आतिथ्य सत्कारमा अब्बल रहेको भन्दै एसोसिएसनले होटल सब्रिनालाई यो अवार्ड प्रदान गरेको जनाएको छ । होटल सब्रिना थ्रि स्टार होटल हो । यो होटल सञ्चालनमा आएको तीन वर्ष मात्रै भएको छ। उक्त अवार्ड एसोसिएसनका संस्थापक अध्यक्ष टिपिएस ग्रोभरले होटलका एमडी निरञ्जन थापा र म्यानेजर उपेन्द्र भारतिलाई प्रदान गरेका हुन् । अवार्ड दिदैँ ग्रोभरले होटल पारिवारिक र आतिथ्यता सत्कारमा अब्बल रहेको बताए ।
यसअघि यस्तो अवार्ड २०१९ मा होटल ओरिन्टल (र्याडिसन) ले पाएको थियो । सन् २०२० मा भने कोरोनाका कारण यस्तो अवार्ड वितरण कार्य रोकिएको थियो । यो अवार्ड प्रदान गर्नका लागि स्वदेशी लगानी र व्यवस्थापनलाई पहिलो प्राथमिकता दिने गरेको एसोसिएसनले जनाएको छ ।
एसोसिएसनले यस्तो अवार्ड नेपालमा मात्रै नभई दुबई, कतार, भारत, थाइल्याण्ड, अर्मेनिया लगायत युरोपियन देशहरुमा पनि प्रदान गर्दै आएको छ ।