काठमाडौं । नेपाल टेलिकमले एक महिनामै ८ लाख ५१ हजार ३६५ फोरजी प्रयोगकर्ता बढाएको छ। टेलिकमसँग गत असोजमा ६६ लाख ३४ हजार फोरजी ग्राहक रहेकोमा कात्तिकमा यो संख्या ७४ लाख ८५ हजार ४३० पुगेको नेपाल दूरसंचार प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो तथ्यांकले देखाएको छ।
यस्तै, केही महिनाअघिसम्म फोरजी ग्राहक संख्यामा नेपाल टेलिकममाथि स्पष्ट रुपमा हाबी देखिएको एनसेल अहिले यो सेगमेन्टमा टेलिकमभन्दा १३ लाख ३७ हजार १८६ ग्राहक संख्याले पछि परेको छ।
एनसेलले गत कात्तिकमा ८८ हजार ७६४ फोरजी ग्राहक थपेर कुल ६१ लाख ४८ हजार २४४ पुर्याएको छ। असोजमा एनसेलसँग ६० लाख ५९ हजार ४८० फोरजी ग्राहक थिए।
त्यसैगरी, स्मार्ट टेलिकमको फोरजी ग्राहक भने निरन्तर ओरालो लाग्दै गएको छ। असोजमा एक लाख ६७ हजार ०९६ फोरजी ग्राहक रहेकोमा कात्तिकमा १३ हजार ३५१ ले घटेर एक लाख ५३ हजार ७४५ पुगेको प्राधिकरणले जनाएको छ।
कात्तिकमा देशभर फोरजी ग्राहकहरु एक करोड ३७ लाख ८७ हजार ४१९ पुगेका छन्। असोजमा यो संख्या एक करोड २८ लाख ६० हजार १४१ थियो। एकैमहिना देशभर नौ लाख २७ हजार २७८ फोरजी ग्राहक थपिएको प्राधिकरणले जनाएको छ।