काठमाडौ । पुल्चोकस्थित श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २२ औ वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष अमरदास श्रेष्ठको अध्यक्षतामा भएको सभामा उनले आर्थिक वर्ष ०७७/७८ मा सहकारीले गरेको उपलब्धी, भावी योजना, सम्भावना र भविष्यमा आउन सक्ने चुनौतिको बारेमा जानकारी गराएका थिए ।
कार्यक्रममा संस्थाका सचिव एवं प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले देशभर संचालित करिब ३४ हजार सहकारी मध्ये लालीगुराँस सहकारी उत्कृष्ट संस्थाको रुपमा पहिचान बनाउन सफल रहेको बताए । कोरोना भाइरसको विद्यमान अवस्थाको कारण सहकारी क्षेत्रमा परेको प्रभाव र सोको कारण सहकारी संस्थामा पर्न सक्ने समस्याको विषयमा सरकारले विशेष ध्यान दिनुपर्ने बताए ।
उनले देशकै उत्कृष्ठ सहकारी संस्थाको पहचिान बनाउन सफल संस्थाले ५ वर्षे रणनीति तयारी गरी लागु गर्ने योजना रहेकोमा जोड दिएका थिए । उनले भने,‘अहिलेको तरलता अभाव रहेको वित्तिय बजारमा चुनौति थपिएको छ । त्यसको लागि सबै सहकारीकर्मीहरु एकजुट हुनुपर्छ ।’
कार्यक्रममा राष्ट्रिय योजना आयोगका पुर्व सदस्य एवं अर्थविज्ञ डा. जनकराज शाहले मुलुकको हालको आर्थिक अवस्था र सहकारी क्षेत्रले खेल्नुपर्ने भुमिकाको बारेमा धारणा राखेका थिए । उनले संस्था अघि बढाउन सबै कर्मचारी,विज्ञ सल्लाहकार र सञ्चालक समितिको मुख्य भुमिका रहनेमा जोड दिए ।
संस्था स्थापना भएको २१ वर्ष अवधीमा सहकारीको शेयर सदस्यको संख्या बढेर करिब २२ हजार पुगेको छ । संस्थाले आफ्नो लगानीमा चितवनको खैरहनीमा देशकै सर्वाधिक ठूलो गाई फार्म लालीगुराँस डेरी फार्म एण्ड रिसर्च सेन्टर संचालनमा ल्याएको छ ।
संस्थाले गतवर्षदेखि ललितपुर गोदावरीमा दुग्ध प्रसोधन उद्योग समेत संचालन गरेको छ । निकट भविष्यमा काठमाडौको नयाँबजार, महाराजगंज, ललितपुरको कुमारीपाटी, चितवनको भरतपुर, कास्कीको पोखरा, गोरखाको सिरानचोक र मकवानपुरको हेटौंडामा सदस्य सुविधा काउण्टर संचालन गर्ने तयारी गरेको पनि विज्ञप्तिमा उल्लेख छ ।