
काठमाडौँ । नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले बैंकको बढेको ब्याजदर तत्काल फिर्ता लिन माग गरेको छ । महासङ्घका अध्यक्ष नरेश कटुवालले एक विज्ञप्ति जारी गरी बैंक तथा वित्तीय संस्थाले लगानीयोग्य रकमको बहानामा ऋणको ब्याजदर अचाक्ली बढाएको भन्दै उक्त ब्याजदर तत्काल फिर्ता लिन माग गर्नुभएको हो ।
“बैंकको पछिल्लो काम कारबाहीले अर्थतन्त्रलाई थप जटिलतातर्फ धकेल्न खोजेको छ”, विज्ञप्तिमा भनिएको छ । उहाँले कोरोनाका कारण निकै अप्ठ्यारो अवस्थामा परेको उद्योग व्यवसाय पुनःबैंकको ब्याजदरका कारण समस्या खेपिरहेको बताउनुभयो ।
उद्योग व्यवसाय गर्नेहरुले अहिले बैंकबाट सहज तरिकाले ऋण पाउन सक्ने अवस्था नभएको उहाँको भनाइ छ । पछिल्लो समय बैंकले तरलता अभावका बहानामा उद्योगी व्यवसायीलाई ऋण अड्काउने, मनपरी ढङ्गले ब्याजदर बढाउनेलगायत भइरहेका गतिविधिप्रति महासङ्घको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।