
काठमाडौं । जाडो बढेसँगै विद्युतको माग हृवात्तै बढेको छ । विद्युत् खपत बढाउन चालिएका कदम र जाडो बढेसँगै विद्युतको आन्तरिक माग हृवात्तै बढेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
गत वर्षको तुलनामा यस वर्ष विद्युतको माग तीन सय मेगावाटको हाराहारीमा बढेको प्राधिकरणले जनाएको छ । आन्तरिकरूपमा उत्पादन भएको विद्युत् खपत गर्न नसकी खेर जाने अवस्थापछि खपत बढाउन विद्युतीय उपकरणको प्रयोग बढाउने र उद्योगलाई चाहिएजति विद्युत् उपलब्ध गराउने नीतिअनुसार काम भइरहेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताउनुभएको छ ।
विद्युतीय चुल्हो, एयर कन्डिसनलगायत विद्युत्बाट चल्ने घरायसी सामान प्रयोगमा भएको वृद्धि, विद्युत्बाट सञ्चालन हुने यातायातका साधन वृद्धि, ठूला उद्योगलाई उपलब्ध गराइएको पर्याप्त विद्युत्लगायतका कारणले दैनिकरूपमा खपत बढिरहेको उहाँको भनाइ छ । प्राधिकरणका अनुसार कात्तिकको अन्तिमबाट नेपालकै ठूलो सिमेन्ट उद्योग होङ्शीलाई ३० मेगावाट विद्युत् उपलब्ध गराएकाले पनि माग बढेको हो ।
विद्युत्को माग क्षमता (मेगावाट) र ऊर्जा (युनिट) दुवैमा बढिरहेको छ । मंंसिर २७ गते प्रणालीमा विद्युत्को उच्च माग १५ सय ३९ मेगावाट रहेकोमा गत वर्षको सोही दिनको १२ सय १७ मेगावाटको तुलनामा तीन सय २२ मेगावाट बढी हो । सोही आधारमा विद्युत्को पिक डिमान्ड गत वर्षको सोही दिनको तुलनामा २६.५ प्रतिशत वृद्धि भएको छ ।
प्राधिकरणका अनुसार मंसिर २७ गतेको प्रणालीको पिक डिमान्ड पूर्तिका लागि प्राधिकरणका विद्युत् गृहहरूबाट पाँच सय ४० मेगावाट, प्राधिकरणका सहायक कम्पनीका विद्युत् गृहबाट पाँच सय २९ मेगावाट, निजी क्षेत्रका विद्युत् गृहबाट चार सय २५ मेगावाट र भारतबाट २५ मेगावाट आयात गरिएको थियो । सोही दिन पिक समयमा पनि चार मेगावाट विद्युत् भारततर्फ निर्यात गरिएको थियो ।
विद्युत् बढी खपत हुने काठमाडौं उपत्यकासहित आसपास क्षेत्रमा विद्युत् माग पनि हृवातै बढेको छ । काठमाडौं उपत्यकाको विद्युत्को अधिकतम माग ९० मेगावाटको हाराहारीमा वृद्धि भएको छ । गत वर्ष दुई सय ९३ मेगावाट रहेकोमा उपत्यकाको पिक डिमान्ड बढेर तीन सय ८२ मेगावाट पुगेको छ । ऊर्जाको मागका आधारमा मंसिर २७ गते विद्युत् खपत दुई करोड ७२ लाख युनिट थियो ।
गत वर्षको सोही दिनको दुई करोड ११ लाखको तुलनामा ६१ लाख युनिट बढी हो । ऊर्जाका आधारमा विद्युत् खपत गत वर्षको तुलनामा २८.६५ प्रतिशत बढी हो । प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले गत वर्षको तुलनामा यस वर्ष ३० प्रतिशतको हाराहारीमा पिक डिमान्ड बढ्नु ठूलो उपलब्धि भएको दाबी गर्नुभएको छ ।