काठमाडौँ । सरकारले आजदेखि १२ वर्षमाथिका बालबालिकालाई कोरोनाविरुद्धको खोप दिने भएको छ ।
पहिलो चरणमा ५७ जिल्लामा १२ देखि १७ वर्ष उमेर समूहकालाई मोर्डनाखोप दिन लागिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। यो खोपको दोस्रो डोज माघ २ देखि १२ सम्म दिने छ ।
सरकारी तथ्यांकअनुसार नेपालमा १२ देखि १७ वर्ष उमेर समूहको सङ्ख्या ३४ लाख २५ हजार ४०८ छ । यसै गरी पुस १३ देखि २२ सम्म आठ जिल्लाका बालबालिकालाई फाइजर खोप दिने तयारी छ । फाइजरको अर्को डोज माघ ४ देखि १३ सम्म दिइनेछ ।
फाइजर खोप १२ वर्षमाथिको उमेर समूहमा प्रभावकारी मानिएको छ । मोडर्ना खोप प्रदेश १ ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, ओखलढुङ्गा, खोटाङ, भोजपुर, धनकुटा, तेह्रथुम, पाँचथर, इलाम र उदयपुरका बालबालिकालाई दिइने छ ।
यस्तै‚ प्रदेश २ का सिरहा, महोत्तरी, सर्लाही, रौतहट र बारा जिल्लामा यो खोप लगाइने छ । बागमती प्रदेशका दोलखा, सिन्धुपाल्चोक, रसुवा, धादिङ, नुवाकोट, रामेछाप र मकवानपुरमा, गण्डकीका गोरखा, मनाङ, मुस्ताङ, म्याग्दी, लमजुङ, तनहुँ, नवलपरासी पूर्व, स्याङ्जा र पर्वत तथा लुम्बिनीका रुकुम पूर्व, रोल्पा, प्युठान, गुल्मी, अर्घाखाँची, पाल्पा, नवलपरासी पश्चिम, कपिलवस्तु र बर्दियाका बालबालिकालाई मोर्डनाखोप लगाइने छ ।
यस्तै कर्णालीका डोल्पा, मुगु, हुम्ला, जुम्ला, कालिकोट, दैलेख, जाजरकोट, रुकुम पश्चिम र सल्यान, र सुदूरपश्चिमका बाजुरा, बझाङ, दार्चुला, बैतडी, डोटी, अछाम र कञ्चनपुरका बालबालिकालाई मोर्डना खोप लगाउने सरकारको तयारी छ ।
दोस्रो चरणमा काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रेपलान्चोक, चितवन, सिन्धुली, डडेल्धुरा र सुर्खेतका बालबालिकालाई फाइजर खोप दिइनेछ । नेपालमा अहिलेसम्म अनुदान र खरिद गरी ३ करोड ५४ लाख ६६ हजार ९ सय ८० डोज खोप भित्रिएको छ ।
हालसम्ममा देशभर २ करोड १४ लाख ४५ हजार १४५ डोज लगाइएको छ । त्यसैगरी एक डोज मात्र खोप लगाउनेको सङ्ख्या १ करोड १९ लाख १३ हजार ८ सय ८६ पुगेको छ । अहिलेसम्म पूर्ण खोप लिनेको सङ्ख्या ९५ लाख ३१ हजार २५९ पुगेको छ ।