काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेडको १५औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । आर्थिक वर्ष २०७७/७८ को कुल नाफाबाट बैंकले आफ्ना शेयर धनीहरुलाई प्रस्ताव गरेको १० प्रतिशत बोनश शेयर र ३.५ प्रतिशत नगद लाभांश गरी १३ दशमलब ५ प्रतिशत लाभांश दिने प्रस्तावलाई पारित गर्दै बैंकको १५औँ वार्षिक साधारणसभा सम्पन्न भएको हो ।
बैंकले आर्थिक वर्ष २०७७/७८ मा सञ्चालन नाफा ७ अर्ब ९ करोड रुपैयाँ र कर पछिको नाफा ४ अर्ब १६ करोड रुपैयाँ आर्जन गरेको थियो । प्रस्तावित बोनश शेयर वितरण पश्चात बैंकको चुक्ता पुँजी २३ अर्ब ७९ करोड रुपैयाँ पुग्ने छ ।
साधारणसभामा बैंकको सञ्चालक समितिको तर्फबाट आर्थिक वर्ष २०७७/७८ को प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंक आफ्नो स्थापना कालदेखि नै नेपाल सरकार एवं नेपाल राष्ट्र बैंकद्वारा घोषित नीतिहरुको परिपालनमा गर्दै आफ्ना शेयरधनीलाई उचित लाभांश प्रदान गर्न कटिबद्ध रहेको बताए ।
बैंकले सदाझैं आफ्नो व्यावसायिक रणनीतिक योजना अनुरुप निक्षेप संकलन, कर्जा लगानी तथा व्यवसाय विस्तारका सन्तुलित रुपमा बैंकको उपस्थिती वृद्धि गर्दै जाने उनको भनाई थियो ।
कोरोना महामारीले अर्थतन्त्रमा पारेको प्रतिकुल प्रभावलाई न्यूनीकरण गर्न ग्राहकमैत्री अत्याधुनिक डिजिटल प्रविधि मार्फत सेवा प्रवाह गर्दै ग्राहकलाई थप प्रभावकारी सेवा पु¥याउन लागीपरेको पनि उनले बताए ।
बैंकले अझै सर्वसुलभ बैंकिग सेवा प्रदान गर्ने तथा राष्ट्र बैंकले २०७९/८० लाई विद्युतीय भुक्तानी कारोबार प्रवद्र्धन वर्षको रुपमा मनाउने घोषणा अनुसार देशैभर डिजिटल भुक्तानीका लागि बैंकिग साक्षरता कार्यक्रम आयोजना गर्दै जाने पनि जानकारी गराएको बैकले बताएको छ ।
बैंकको खुद नाफा आ.व.२०७६÷७७ को तुलनामा आ.व.२०७७/७८ मा ४३ दशमलव २० प्रतिशतले वृद्धि भई ४ अर्ब १६ करोड रुपैयाँ पुगेको छ । हाल बैंकले २ खर्ब ७४ अर्ब रुपैयाँ भन्दा बढी निक्षेप संकलन गर्नुका साथै २ खर्ब ७० अर्ब रुपैयाँभन्दा बढी कर्जा लगानी गरेको छ ।
सबै क्षेत्र र वर्गसम्म बैंकिग सेवाको पहुँच पुर्याउने उद्देश्यकासाथ बैंकले देशका ७६ जिल्लामा २८७ शाखा सञ्जाल तथा ३ अन्तर्राष्ट्रिय सम्पर्क कार्यालय सहित ८५० भन्दा बढि सेवा केन्द्रबाट २७ लाख ग्राहकलाई प्रत्यक्ष बैंकिग सेवा प्रदान गर्दै आएको पनि विज्ञप्तिमा उल्लेख छ ।