काठमाडौं । नबिल बैंकले ‘नबिल डिजिबैंक पोर्टल’ सार्वजनिक गरेको छ। बैंकले काठमाडौंमा एक कार्यक्रम आयोजना गरी ग्राहकहरुलाई एकद्वार प्रणालीमार्फत् सरल बैंकिङ सेवाको अनुभव गराउनका लागि डिजिबैंक पोर्टल सार्वजनिक गरेको हो।
नबिल डिजिबैंक पोर्टलको सार्वजनिक बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) अनिल केशरी शाहले गरेका हुन्। सिइओ शाहले पोर्टल सार्वजनिक कार्यक्रममा बोल्दै मानिसको दैनिकी प्रविधिसँग जोडिएको बताए।
उनले अब हरेक काम प्रविधिमैंत्री बन्दै गएकाले नबिल बैंकले पनि बैंकिङ कारोबार मात्रै नभएर सबै सेवा अनलाइनमार्फत दिनको लागि डिजिबैंक पोर्टलको सुरुवात गरेको बताए।
उनले नविल बैंकले कम्प्युटराइज बैंकबाट सुरु गरेको यात्रा अब साच्चिकै डिजिटल बैंकको विकास गर्ने गरी नविल डिजिबैंक पोर्टल सुरुवात भएको बताए। ‘अहिले हरेक मानिसको दैनिकी प्रविधिसँग जोडिएकाले डिजिटल पोर्टलहरुको विकास हुनु जरुरी छ। नविल बैकले बैंकिङ सेवा मात्रै नभएर तरकारी किन्नेदेखि बस, हवाई टिकट काट्नेसम्मका सेवा दिनको लागि नविल पोर्टलको सुरुवात गरिएको हो,’ उनले भने।
पोर्टलबाट नबिल बैंकका ग्राहकहरूले एकद्वार प्रणालीमार्फत् सेवाहरू प्राप्त गर्न सक्नेछन्। बैंकले ग्राहकलाई सहज र सरल बैंकिङ अनुभव प्रदान गर्न पोर्टलमार्फत् उत्पादन/सेवा सुरुवात गरेको छ।
नबिल डिजिबैंकमा अनलाइन फिक्स्ड डिपोजिट, डेबिट/क्रेडिट कार्ड अनुरोध, डेबिट कार्ड रिप्लेसमेन्ट, मर्चेन्ट अनबोर्डिङ र रिटेल/एसएमई लोन आवेदनलगायतका सेवा उपलब्ध हुनेछन्।