
काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको नयाँ नेतृत्वका लागि ध्रुब थापाले प्यानल घोषणा गरेका छन्। १८ सदस्यीय कार्यसमितिका लागि थापाले प्यानलसहित उम्मेदवारी घोषणा गरेका हुन्।
नाडाको इतिहासमै यस्तो समावेशी प्यानल पहिलोपटक बनेको थापाले दाबी गरे। थापाको प्यानलमा आकाश गोल्छा, निराकार श्रेष्ठ, दीपक अग्रवाल, कपिल शिवाकोटी, शुभाशिष थपलिया, अमरज्योती रञ्जित, बीएन पाठक, दीपेन्द्रकुमार मिश्र, नवराज भुसाल, नारायणप्रसाद पौडेल, प्रदीपमान प्रधान, प्रकाश सिग्देल, रिद्धि कार्की, सगुन बिएस्. कंसाकार, सञ्जयकुमार खेतान छन्।
समूहले ‘अब बनाउनु छ नाडा, सबै अटोमोबिल्स व्यवसायीको साझा’ भन्ने नाराका साथ नीतिगत योजना, सचिवालय सुधार, नाडा अटो शो कार्यविधि र प्याटेन्ट दर्ता, डेटा हब निर्माण, सामाजिक उत्तरदायित्व विस्तार गर्ने प्रतिबद्धता गरेको छ। ‘सबै प्रदेशका साथीहरुसँग अन्तरक्रिया गर्दै आएका छौं। देखिएका समस्याहरुलाई सम्बोधन गर्न हामी प्रतिबद्ध छौं,’ उनले भने।