काठमाडौं । नेपालमा कोभिड–१९ महामारी विरूद्धको प्रतिकार्यलाई जारी राख्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विश्व स्वास्थ्य संगठनको सहयोगमा कुनै पनि बिरामी अस्पताल आउनुअघि, अस्पतालमा रहँदा र अस्पतालबाट गएपछि आवश्यक स्वास्थ्य स्याहार सम्बन्धी स्वास्थ्य आपत्कालिन तयारीमा सुधार ल्याउने उद्देश्यले हालै एउटा परियोजना सुरु गरेको छ ।
गत महिनादेखि सुरु गरिएकोे एक वर्षीय सो परियोजनाले समुदाय तथा अस्पतालहरूमा कोभिड–१९ विरूद्धको प्रतिकार्यमा सुधार ल्याउन बिरामीको स्थानान्तरण र यातायातमा सुधार, ४ सय जना स्वास्थ्यकर्मीलाई तालिमका साथै प्रदेशमा कोभिड–१९ पश्चात क्लिनिक स्थापना गर्ने र केन्द्रीय तहमा तालिम प्रयोगशाला स्थापना गर्ने लक्ष्य राखेको छ ।
युरोपेली आयोगको मानवीय सहायता विभागबाट सहयोग प्राप्त यस परियोजनाले बिरामीको स्थानान्तरण र यातायातमा सुधार ल्याउने, ४०० जना स्वास्थ्यकर्मीलाई तालिम दिने, सातै प्रदेशमा कोभिड–१९ पश्चात् क्लिनिक स्थापना गर्ने र केन्द्रीय तहमा तालिम प्रयोगशाला स्थापना गर्ने लक्ष्य राखेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलका अनुसार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, विश्व स्वास्थ्य सङ्गठनको प्राविधिक सहयोगमा सञ्चालित यस परियोजनाले बिरामीलाई आवश्यक तीन वटै तहको स्वास्थ्य स्याहार (अस्पताल आउनुअघि, अस्पतालमा रहँदा र अस्पतालबाट गएपछि चाहिने स्याहार)लाई सुदृढ र सबल बनाउने छ ।’
महामारीको समयमा नेपालको कठिन भौगोलिक संरचना वा सडक पूर्वाधारका कारण अस्पतालगई भर्ना हुनुपर्ने धेरै बिरामीहरूका लागि समयमै त्यस्ता सेवा लिनु चुनौतीपूर्ण रहेको बताउँदै पोखरेलले यस परियोजनाले त्यस्ता बिरामीहरूलाई राहात दिने विश्वास व्यक्त गर्नुहुन्छ ।
नेपालमा हाल उपलब्ध एम्बुलेन्सहरूमा कोभिड–१९को व्यवस्थापनका लागि आवश्यक उपकरणहरू व्यवस्थापन नभएको बताउनुहुँदै उहाँले परियोजनाले एम्बुलेन्सको सुधार गर्नुका साथै स्वास्थ्यकर्मीका विविध समूहलाई कोभिड–१९बाट संक्रमित व्यक्तिहरूको प्रारम्भिक पहिचान तथा व्यवस्थापन गरी तीनलाई उपयुक्त स्वास्थ्य सेवा केन्द्रमा पठाउनका लागि आवश्यक सीप र तालिम प्रदान गरिने बताउनुहुन्छ ।्
परियोजना अन्तर्गत पहिचान गरिएका प्रत्येक अस्पतालमा एउटा एम्बुलेन्सको स्तरोन्नति गरी एम्बुलेन्स चालक र आधारभूत आपत्कालीन चिकित्सा प्राविधिकहरूलाई सुरक्षित यातायात तथा आधारभूत जीवन सहयोग उपलब्ध गराउन तालिम दिइनेछ ।
यस परियोजनाले नेपालमा कोभिड–१९को निदान तथा उपचारका लागि तोकिएका अस्पतालहरूसँगको सञ्चार तथा समन्वयको नेतृत्व गरिरहेको ‘कोभिड–१९को एकीकृत केन्द्रीय नियन्त्रण कक्ष र सुविधा सम्पन्न सीप प्रयोगशाला स्थापना गर्न पनि सहयोग गर्ने पोखरेलले बताउनुभयो ।
परियोजना अन्तर्गत बिरामीहरूलाई समयमै उच्च तहका स्वास्थ्य सुविधा केन्द्रमा निर्देशनअनुसार स्थानान्तरण गर्न सहज बनाउन नियन्त्रण कक्षलाई उचित रूपमा काम गर्न सघाउने मानक सञ्चालन प्रक्रिया तयार गरिनेछ । तालिम प्रयोगशालालाई उचित रूपमा काम गर्न सघाउनका लागि सञ्चालन मार्गदर्शनहरू पनि तयार गरिने डा. पोखरेलले जानकारी दिनुभयो ।
देशभरका चुनिएका अस्पतालहरूमा बायो मेडिकल उपकरणहरूको प्रयोगसम्बन्धी तालिमका साथै कार्य सञ्चालन, तथ्याङ्क व्यवस्थापन तथा संक्रमित व्यक्तिहरूको व्यवस्थापनको मानकीकरणसम्बन्धी आवश्यकताहरूलाई सम्बोधन गर्न मार्गदर्शन, मानक सञ्चालन प्रक्रिया र प्रशिक्षण प्याकेजहरूको एउटा सङ्ग्रह पनि तयार पारिने उहाँले जानकारी दिनुभयो । कोभिड–१९बाट संक्रमित व्यक्तिहरूको बारेमा थप अनुसन्धान अगाडि बढाउनुको महत्त्वलाई बुझ्दै यस परियोजनाले छनौट गरिएका क्षेत्रहरूमा कोभिड–१९को सङ्क्रमणबाट निको भइसकेपछि देखिने रुग्णताको व्यापकता सुनिश्चितसमेत गरिने उहाँले बताउनुभयो ।
‘परियोजनाले सात वटै प्रदेशमा कोभिड–१९का बहु–आयामिक क्लिनिकहरू स्थापना गर्न सहयोग गर्नेछ भने यस परियोजनाले अपाङ्ग व्यक्तिहरूको समावेशीकरण र पुनर्स्थापनाका लागि पनि पैरवी गर्नेछ र पहुँच, सेवा तथा जानकारीसम्बन्धी मुख्य अवरोधहरूलाई पहिचान गरी सम्बोधन गर्नेछ’ डा. पोखरेलले भन्नुभयो । ।
विश्व स्वास्थ्य सङ्गठनको नेपालस्थित कार्यालयका प्रमुख डा. राजेश संभाजीराव पाण्डवका यस वर्षको मे महिनामा संक्रमित व्यक्तिहरूको सङ्ख्यामा आएको तीव्र वृद्धिले देशको स्वास्थ्य प्रणाली कति संवेदनशील रहेछ र कोभिड–१९बाट संक्रमित व्यक्तिहरूको उचित व्यवस्थापन र नियमन गर्ने प्रणालीहरूमा सुधार ल्याउनु कति आवश्यक रहेछ भन्ने देखिएको बताउनुहुन्छ । उहाँ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नेतृत्वमा यसअघि सुरु गरिएका गतिविधि तथा पहलहरूलाई निरन्तरता दिन र नेपाली जनताले पाउने सेवामा सुधार ल्याउन योगदान पु¥याउने विस्तृत कार्यक्रमहरू सञ्चालन गर्न सघाउने उद्देश्यका साथ यो परियोजना सुरु भएको बताउनुहुन्छ ।
यस परियोजनाले घर वा संस्थागत एकान्त बास (आइसोलेसन) मा रहेका गम्भीर बिरामीहरूको प्रारम्भिक पहिचान सुनिश्चित गर्ने र त्यस्ता बिरामीलाई अस्पताल पु¥याइनुअघि यातायातको क्रममा चाहिने सेवा प्रदान गर्दै उपयुक्त स्वास्थ्य केन्द्रमा समयमै स्थानान्तरण सुनिश्चित गर्ने लक्ष्य राखेको उहाँले बताउनुभयो ।
परियोजनाले अस्पतालका स्वास्थ्य सेवा प्रणालीमा सुधार ल्याई अस्पतालमा भर्ना भएका बिरामीहरूको स्वास्थ्य लाभको समेत प्रवर्द्धन गर्ने लक्ष्य राखेको डा. पाण्डवले जानकारी दिनुभयो । परियोजनाले कोभिड–१९बाट संक्रमित भई निको भइसकेका व्यक्तिहरूमा बाँकी भएका लक्षणहरूको व्यवस्थापन गरी त्यस्ता बिरामीहरूलाई जतिसक्दो चाँडो सामान्य अवस्थामा फर्काउन र तीनको थप निगरानीलाई पनि प्राथमिकता दिएको उहाँले जानकारी दिनुभयो ।