
काठमाडौं । भौतिक संरचना निर्माणको समय शुरु भएसँगै त्यसमा प्रयोग हुने सामग्रीहरुको मूल्य अप्रत्यासित बढेको छ। सिमेन्ट, छड, बालुवा, पेट्रोलियम पदार्थ सबैको मूल्य बढेसँगै यो पटक व्यक्तिगत र सार्वजनिक संरचना निर्माणको लागत बढ्ने मात्र होइन निर्माण कार्य नै प्रभावित हुने देखिएको छ।
हिउँदयाम शुरु भएसँगै नेपालमा पूर्वाधार निर्माणले गति लिने गर्छ । तर यो पटक हिउँद शुरु हुनु अघिदेखि नै अन्तर्राष्ट्रिय बजारमा कोइलाको भाउ निकै बढ्दा यसको असर सिमेन्ट र छडमा परेको छ ।
अहिले फलामे छडको मूल्य प्रतिकिलो १५ देखि २० रुपैयाँसम्म बढेको छ भने सिमेन्टको मूल्य बोराको २० प्रतिशतसम्म बढेको छ । केही साता अघि फलामे डन्डी प्रतिकेजी ८३ रुपैयाँ मूल्यमा खरिद गर्नुपर्थ्यो । तर अहिले त्यसको मूल्य बढे १ सय २ देखि १ सय ६ रुपैयाँसम्म पुगेको छ।
व्यवसायी र डिलरले बजारको मागलाई हेरेर मूल्य बढाउने गरेकाले त्यसको प्रभाव विकास निर्माणमा पर्ने देखिएको छ । नेपालमा वर्षात् शुरु हुने बित्तिकै मूल्य घटाउने र निर्माण सिजन अर्थात हिउँद शुरु हुने बित्तिकै मूल्य बढाउने विगतदेखिकै चलन हो ।
योसँगै सरकारले नदीजन्य सामग्रीको उत्खनन र बिक्रीवितरणमा गरेको कडाइले गिट्टी, बालुवा, ढुंगाको पनि अभाव छ । यस्तै यस पटक त झन पेट्रोलियम पदार्थको समेत मूल्य बढेको छ । निर्माणका लागि आवश्यक अधिकांश सामग्रीको मूल्यवृद्धि र अभावको प्रत्यक्ष वा परोक्ष प्रभाव सबै आयोजनामा पर्ने देखिएको छ।
– शंकर पण्डित