काठमाडौँ । यस वर्षको लक्ष्मीपूजाको दिन पिक समयमै ४८ मेगावाट विद्युत् भारत निर्यात भएको छ ।
विगतका वर्षहरूमा लक्ष्मीपूजाको माग धान्नका लागि विद्युत् आयात हुँदै आएकोमा अब आन्तरिक उत्पादनले नै पुग्न थालेको र यस दिन भारतबाट हुने आयात शून्यमा झरेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
यस वर्षको तिहारको लक्ष्मीपूजाको दिन विद्युतको उच्च माग (पिक डिमाण्ड) १२७० मेगावाट पुगेको छ ।
नेपाल विद्युत् प्राधिकरणले यस वर्षको लक्ष्मीपूजाका दिन पिक डिमाण्ड १५०० मेगावाटको हाराहारीमा पुग्ने प्रक्षेपण गरी सोही अनुसार विद्युत् आपूर्तिको व्यवस्थापन गरेको थियो ।
प्राधिकरणले यस वर्षको लक्ष्मीपूजाको दिन साँझ सभा ६ बजे पिक डिमाण्ड १२७० मेगावाट रेकर्ड गरेको जनाएको छ । गत वर्ष लक्ष्मीपूजाको दिन पिक डिमाण्ड ११२३ मेगावाट थियो । गत वर्षको तुलनामा यस वर्षको लक्ष्मीपूजाको पिक डिमाण्ड १४७ मेगावाट बढी हो ।
यस वर्ष सङ्घीय राजधानी काठमाडौँ उपत्यकासहित यस आसपासका क्षेत्रको पिक डिमाण्ड ३२०.६४ मेगावाट रेकर्ड गरिएको छ । गत वर्ष यस क्षेत्रको पिक डिमाण्ड २९६ मेगावाट थियो ।
चालु आर्थिक वर्षको अहिलेसम्मको पिक डिमाण्ड १६१४.८ मेगावाट रेकर्ड गरिएको छ । यो डिमाण्ड गत असोज १० गतेको हो । सोही दिनको निर्यातसहित प्रणालीको अधिकतम विद्युत् माग १७५८.८ रेकर्ड गरिएको छ । यो नै अहिलेसम्मको सबैभन्दा बढी पिक डिमाण्ड हो ।
यस वर्षमा लक्ष्मीपूजाका दिन मुलुकभर विना अवरोध विद्युत् आपूर्ति गर्न सफल भएको प्राधिकरणले जनाएको छ । प्राधिकरणले पर्याप्त विद्युत् रहेकाले लक्ष्मी पूजाको दिन ढुक्कसँग बत्ती बाल्न उपभोक्ताहरूलाई आग्रह गरेको थियो ।