दूरसञ्चार कम्पनीहरूलाई दुखित बनाउने एउटा अनुमान छ । एगप्लान्टका सीइओ डा. जोन बेट्सको भविष्यवाणी पत्याउने हो भने सन् २०२० को दशकको अन्त्यसँगै स्मार्टफोनको पनि अन्त्य हुनेछ । दशकको समाप्तितिर अहिलेजस्तो मोबाइल फोनको प्रयोग हुने छैन । बेट्सकै भनाइमा त्यो औचित्यहीन सावित हुनेछ । विश्वभर नै शाखा विस्तार गरेको एगप्लान्ट सफ्टवेयर मूल्याङ्कनमा चर्चित कम्पनी हो । के बेट्सको अनुमानजस्तै नेपाली दूरसञ्चार बजार प्रभावित रहला ? विकसित देशमा उनको भनाइजस्तै एउटा वातावरण तयार भए पनि नेपालकै सन्दर्भमा ठ्याक्कै त्यही अवस्था नदेखिन सक्छ । तर स्मार्टफोनको प्रयोग अहिले जसरी भइरहेको छ, त्यसको प्रवृत्तिमा पक्कै परिवर्तन नेपालमा पनि देखिनेछ । दूरसञ्चार कम्पनीहरूको विगत केही वर्षयताको वासलात विश्लेषण गर्ने हो भने पनि यस्ता सङ्केत देखा पर्छन् ।
२०५६ सालमा पहिलो पटक मोबाइल सेवाको सुविधा देख्न पाएको नेपाली समाजका लागि यो अब कुनै नौलो साधन रहेन । सेवाप्रदायकको प्रतिस्पर्धाले यसको पहुँच यसरी बढायो कि जहाँ कुनै सुविधा उपलब्ध छैन भने पनि त्यहाँ दूरसञ्चारको सेवा पुगेकै छ । सन् २०१० को दशकको अन्त्य यसकारण पनि सुखद रह्यो । कुल जनसङ्ख्याभन्दा पनि ४० प्रतिशत अझ बढी सिम कार्डको वितरणले यो सुखद अवस्थाको पुष्टि गर्छ । तर दूरसञ्चारको पहुँच विस्तारसँगै यसको प्रयोगको प्रवृत्तिमा भएको परिवर्तनले भने दूरसञ्चार कम्पनीहरूलाई यति बेला अन्योलको अवस्थामा पु¥याइदिएको छ । दूरसञ्चार अब परम्परागत ‘भोइस’ सेवा मात्र रहेन, डेटाको प्रयोगको अत्यधिक वृद्धिले यसको परिभाषा विस्तारै बदलिन थालेको छ । स्मार्टफोन अब फोनका लागि हैन डेटाका लागि बढी उपयोगी देखिन थालेको छ ।
डेटालाई छाडेर सेवाप्रदायक अब अगाडि बढ्नै सक्दैनन् । नयाँ सेवाप्रदायक भित्रिए पनि अब आउने डेटाको बजारलाई लक्षित गरेर नै आउने हो । डेटाको मूल्य र गुणस्तरमा जो अगाडि आउँछ, नेपालको दूरसञ्चार बजारमा अब उही अग्रणी रहन्छ । डेटा खपतका नयाँनयाँ योजनाको अवसर जसले छिटो प्रयोग गर्छ अबको डेटा वारमा त्यही विजेता बन्छ । विजेतालाई लामो समय बजारको नेतृत्व गर्ने अवसर छ ।
नेपालका प्रमुख दूरसञ्चार कम्पनीहरूको वार्षिक वासलात हेर्ने हो भने भोइसबाट हुने आम्दानी प्रभावित बनेको देखिन्छ । यसको सबैभन्दा ठूलो असर इन्टरनेसनल कलमा देखिएको छ । नेपाल टेलिकमकै पछिल्ला प्रतिवेदन–हरूमा यस्तो कलवापतको आम्दानी घटेको विषयलाई अबको चुनौतीको रूपमा प्रायः समेटिएको हुन्छ । अर्बौंको त्यस्तो बजार बिस्तारै खुम्चिँदै छ । यसको असर कम गर्ने सही विकल्पको खोजीमा नेपाली टेलिकम कम्पनीहरू छन् । त्यसो त यो विश्वभर नै टाउको दुखाइको विषय पनि बनेको छ । त्यतिमात्र होइन दूरसञ्चार सेवाप्रदायकको आम्दानीको अर्को ठूलो स्रोत इन्टरकनेक्सन शूल्क पनि प्रभावित बनेको छ । यो सबैको पछाडिको एउटै कारण डेटा नै हो । डेटामा आधारित ओभर दी टप (ओटीटी) सुविधाको अत्यधिक प्रयोगले भोइस कलबाट हुने आम्दानी नराम्ररी प्रभावित बनेको छ । डेटाको औसत उपयोग बढेको मात्र छैन, यो मानवीय आवश्यक सुविधाकै रूपमा स्थापित बनेको छ । डेटाको पहुँचबाट बाहिर रहने व्यक्ति धेरै कुराको पहुँचबाहिर हुने अवस्था सिर्जना भएको छ । नेपाली समाजमा परिवर्तन भएको दूरसञ्चार प्रयोगको प्रवृत्ति अहिले यही नै हो ।
डेटामा प्रतिस्पर्धा
नेपालका प्रमुख तीन दूरसञ्चार सेवाप्रदायकको पछिल्लो व्यावसायिक योजनाहरू सबै डेटा बिक्रीमा केन्द्रित छन् । सामान्य अवसरमा पनि सेवाप्रदायक आफ्नो डेटा अफरसहित प्रस्तुत हुन्छन् । डेटाको शूल्क कम गर्नेदेखि बोनस डेटाको सुविधा दिएर प्रयोगकर्तालाई आकर्षित गर्नुमा सेवाप्रदायकको व्यस्तता देखिन्छ । यो वास्तवमा डेटा बिक्रीको प्रतिस्पर्धा मात्र होइन, बाध्यता पनि हो । इन्टरनेट प्रयोगमा बढेको बानीले पनि सेवाप्रदायकलाई डेटालक्षित योजना ल्याउन बाध्य बनाएको हो । योबाहेक ओटीटीको अत्यधिक प्रयोगले भोइस कलको आम्दानीमा भएको क्षतिलाई पूर्ति गर्ने माध्यम नै डेटा बनेको छ ।
डेटाले भोइसको बजारलाई यसरी प्रभावित बनायो कि भोइस सेवा मात्र छुट्टै बिक्री गर्न सक्ने वातावरण अब रहेन । यद्यपि भोइसलाई पनि बिक्री गर्न भने सेवाप्रदायकहरू यति बेला डेटा र भोइससहितको कम्बो प्याकलाई प्राथमिकता दिन थालेका छन् । त्यसो त डेटा होस् अथवा भोइस, ठूलो मात्रामा बिक्री गर्न सक्ने सम्भावना रहेपछि अहिले प्याक बनाएर बिक्री गर्ने प्रचलन हावी छ । सेवाप्रदायक विभिन्न अवसरमा विभिन्न किसिमका प्याक लिएर उपस्थित हुन्छन् । सेवाप्रदायकले पनि एकै पटक धेरै आम्दानी गर्न सक्ने र प्रयोगविहीन अवस्थामा पनि त्यसको शूल्क पहिले नै प्राप्त हुने अवसर यस्ता प्याकले सिर्जना गरिदिएको छ । प्याक वास्तवमा डेटा प्रयोगतर्फ आकर्षित गराइराख्ने माध्यम पनि बनेको छ । कुनै विशेष चाड अथवा कुनै महत्वपूर्ण दिवस, हर समय सेवाप्रदायकबीच डेटा प्याक बेच्ने एक किसिमको प्रतिस्पर्धा नै हुन्छ ।
भारतमा त यस्तो प्रतिस्पर्धाले सेवाप्रदायकलाई भोइस कल निःशूल्क बिक्री गर्नुपर्ने तहमा पुर्यायो । विश्वभर नै डेटा प्याक बिक्री अहिले चल्तीमा छ । नेपालमा प्याकको समस्या के हो भने यसको प्रयोग अवधि तुलनात्मक रूपमा कम छ । विदेशमा जस्तो वर्षभर नै प्रयोग गर्न सकिने डेटा अथवा भोइस प्याकको योजना ल्याउन सके प्रयोगकर्तालाई आफ्नै सेवा प्रयोग गर्न बाध्य बनाइरहन सक्ने अवसर सेवाप्रदायकका लागि छ । सेवाप्रदायकको प्याक बिक्री गर्ने प्रतिस्पर्धाले प्रयोगकर्तालाई एक हदसम्म फाइदा भने पुगेको छ । पहिलो कुरा त छनोटको अवसर प्राप्त छ । दिनमा मात्र प्रयोग गर्ने हो अथवा रातमा मात्र प्रयोग गर्ने हो, आफ्नो अनुकूलता अनुसारकै डेटा र भोइस प्याक प्रयोगकर्ताले पाएका छन् ।
त्यतिमात्र होइन विदेश जाँदासमेत डेटा र भोइसमा पनि रोमिङ प्याकको सुविधा सेवाप्रदायकले उपलब्ध गराउन थालेका छन् । यसको अन्तिम फाइदा मूल्यमा परेको छ । प्याकविहीन इन्टरनेट प्रयोगकर्ता अहिले पनि महँगोमा पर्छ । हुन त सेवाप्रदायक अनुसार प्रति एमबी मूल्यमा त्यो फरक छ । डेटा बिक्रीमा बढेको प्रतिस्पर्धाले प्रयोगकर्ताको परिवर्तित बानी स्पष्ट सङ्केत गर्छ । ग्राहकको बानी बदलिएअनुसार नै सेवाप्रदायकले आफ्नो परम्परागत योजना बदल्नुपरेको छ । इन्टरनेट कन्टेन्टमा आएको व्यापकताले डेटा बिक्रीलाई केन्द्रमा राखिदिएको छ ।
कन्टेन्ट बनाउने चुनौती
नेपालबाट वार्षिक औसत दुई अर्ब ब्यान्डविथ खरिदवापत बाहिरिन्छ । त्यही ब्यान्डविथ भित्र्याएर सेवा प्रदायकले विभिन्न व्यावसायिक योजना तयार गरेर डेटा बिक्री गर्छन् । एक किसिमले कच्चा पदार्थ ल्याएर वस्तु उत्पादन गरेजस्तै हो डेटा सुविधा । तर त्यस्तो डेटाको खपत सबैभन्दा बढी विदेशी कन्टेन्टहरूमा नै भइरहेको छ । मतलब नेपालीहरूले डेटामा गर्ने खर्च फेरि पनि विदेशी इन्टरनेट सामग्रीमै भइरहेको छ । मोबाइल डेटा प्रयोगकर्ताहरूले अहिले औसत ४० प्रतिशत डेटा युट्युबमा खर्च गर्छन् । त्यसबाहेक फेसबुक, म्यासेन्जर, ट्विटर इन्स्टाग्राम जस्ता सामाजिक सन्जालमा पनि उत्तिकै डेटा खपत हुन्छ । नेपाली आफैंले सिर्जना गरेका इन्टरनेट कन्टेन्टमा हुने खर्च एकदमै कम छ ।
सेवाप्रदायकका लागि स्थानीय कन्टेन्ट उत्पादन गर्ने अवसर डेटामा बढेको यो प्रतिस्पर्धाले सिर्जना गरेको छ । डेटा मात्र बेच्ने कि डेटासँगै कन्टेन्ट पनि बेच्ने ? सेवाप्रदायकका लागि अहिले विकल्प छ । तर कन्टेन्ट तयार गर्नेतर्फ सेवाप्रदायकको खास रुचि देखिन्न । सजिलै डेटा बिक्री भइरहेको अवस्थामा कन्टेन्ट तयार गर्ने झन्झटमा सेवाप्रदायक परेका छैनन् । नेपाल टेलिकमले आफ्नै सामाजिक सञ्जाल मिट चौतारी सार्वजनिक गरेको थियो । पर्याप्त व्यावसायिक योजना र प्रयोगकर्तामैत्री बनाउन नसक्दा यो बन्द हुन पुग्यो ।
पछिल्लो समय वाउटाइम नामक एप्समार्फत नेपाली चलचित्र र टेलिभिजन हेर्न सकिने सुविधा यसमा थियो । सुरुवातमा निकै राम्रो प्रतिक्रिया पाए पनि अहिले टेलिकमको योजनाबाट यो ओझेल परेको छ । सेवाप्रदायकहरूलाई नेपाली आवश्यकताअनुसार कन्टेन्टहरू बनाउन सक्ने ठूलो बजार अझै बाँकी छ । विद्यार्थीदेखि विभिन्न पेसा र कार्यालयहरूका कन्टेन्ट तयार गरेर नयाँ किसिमका ग्राहक आधार बनाउन सक्ने अवसरको प्रयोगमा सेवाप्रदायक लाग्नैपर्छ । सरकारी स्वामित्वको नेपाल टेलिकमले यसलाई नेतृत्व दिन सक्छ । टेलिकम स्वदेशी कन्टेन्ट बनाउने दिशामा जानैपर्छ । तर त्यसका लागि पर्याप्त अनुसन्धान र बजारको अवस्था भने मूल्याङ्कन गर्नुपर्छ ।
उत्पादनमा कसरी जोड्ने ?
डेटाको प्रयोग अब केवल व्यक्तिगत रुचिका कन्टेन्टको उपयोगमा मात्र सीमित रहन सक्दैन । विकसित देशमा डेटाको प्रयोगबाटै भएका अनुसन्धान, मेडिकल उपलब्धि, अझ भनौं इन्टरनेट अफ थिङ्स (आइओटी) सम्मको अवस्था सिर्जना भइसकेको छ । यसले डेटा अब बिस्तारै हरेक क्षेत्रको सहयोगी भूमिकामा विकसित हुँदैछ भन्ने पनि देखाउँछ । अर्थतन्त्रमा यसको योगदानको प्रभाव देखिन थालेको छ । तर नेपालमा अझै त्यस्तो वातावरण बनिसकेको छ्रैन । सामाजिक सञ्जाल र भिडियो कन्टेन्टमा डेटाको प्रयोग अधिक छ । अर्थात् मनोरञ्जनात्मक गतिविधिमा डेटा बढी प्रयोगमा देखिन्छ । मनोरञ्जनका लागि डेटाको प्रयोग हुनु आफैंमा नराम्रो होइन, तर हरेक गतिविधि डेटासँगै जोडिँदै गएको अवस्थामा अब नेपालमा पनि यसको प्रयोग उत्पादकत्वसँग जोड्नुको विकल्प रहने छैन ।
विकसित परिस्थितिले पनि डेटाको उपयोग अब उत्पादन र आर्थिक गतिविधिसँगै जोड्दै लाने भएकोले त्यस किसिमको आधारभूत तयारी नेपालले गर्नुपर्छ । यसमा सेवाप्रदायकको महत्वपूर्ण भूमिका हुन्छ । सेवाप्रदायकले भ्यालु एडेड सर्भिसहरू पहिचान गरेर त्यसमा लगानी बढाउँदै जाँदा यस किसिमका पूर्वाधार तयार हुन सक्छन् । यसले एकातिर अर्थतन्त्रमा फरक किसिमबाट योगदान दिन सुरु गर्छ, अर्कोतर्फ डेटाको खपत बढाउन नयाँ आधार तयार गर्छ । यसबाट सेवाप्रदायकलाई दुवै किसिमले फाइदा पुग्छ । प्रयोगकर्ताको उत्पादकत्व बढाउने र आर्थिक विकासमा समेत डेटाको प्रत्यक्ष योगदान पुर्याउन सक्नेतर्फ सेवाप्रदायकले सोच्न जरुरी छ । डिजिटल नेपालको अवधारणामा पनि यो विषय प्रमुख रूपमा समेटिएको छ ।
फोरजीबाट अवसर
यति बेला प्रमुख तीन सेवाप्रदायक आफ्नो फोरजी सेवाको नेटवर्क विस्तारमा बढी केन्द्रित छन् । नेपाल टेलिकम आफैंले पनि फोरजी/एलटीई परियोजनाका लागि १९ अर्ब लगानी गरेको छ । देशैभर फोरजी विस्तार गर्न र सकेसम्म आफ्नो पहिलो उपस्थिति पुर्याउन जोडतोडको प्रतिस्पर्धा देखिन्छ । फोरजी वास्तवमा डेटा सेवा नै हो । टेलिकमले फोरजीको विस्तारपछि सुरु गर्ने योजना बनाएको भीओएलटीई सेवाले पनि डेटाको प्रयोगलाई बढी जोड दिएको छ । उच्च गतिको इन्टरनेट प्रयोग गर्न पाइने प्रविधिको रूपमा रहेको फोरजीको विस्तारपछि भिडियो कन्टेन्टको प्रयोग थप बढ्नेछ । डेटा बजारको अर्को ठूलो अवसर त्यहाँ छ । खासमा फोरजीको विस्तारसँग नेपालको डेटा बजार परिपक्व हुनेछ । त्यस्तो बजारलाई आपूmतर्पm आकर्षित गर्ने सही योजनाको छनोट गर्नुपर्ने सेवाप्रदायकका लागि चुनौती र अवसर बाँकी नै छ । परम्परागत सेवाको घट्दो आम्दानीलाई उकास्ने महत्वपूर्ण माध्यम फोरजी बन्न सक्छ । यसको गुणस्तर र व्यावसायिक योजनामै फोरजी ग्राहक तयार गर्ने आधार तय हुन्छ ।
अन्त्यमा
डेटालाई छाडेर सेवाप्रदायक अब अगाडि बढ्नै सक्दैनन् । नयाँ सेवाप्रदायक भित्रिए पनि अब आउने डेटाको बजारलाई लक्षित गरेर नै आउने हो । डेटाको मूल्य र गुणस्तरमा जो अगाडि आउँछ, नेपालको दूरसञ्चार बजारमा अब उही अग्रणी रहन्छ । डेटा खपतका नयाँनयाँ योजनाको अवसर जसले छिटो प्रयोग गर्छ अबको डेटा वारमा त्यही विजेता बन्छ । विजेतालाई लामो समय बजारको नेतृत्व गर्ने अवसर छ ।
कनेक्टेड र वेयरेबल डिभाइसको बिस्तारै चढ्दो लोकप्रियताले भविष्यमा डेटा खपत थप बढाउने र यसमा झन् प्रतिस्पर्धा बढ्ने लगभग पक्का छ । बजारका यस्तै अवसरको छिट्टै अनुमान लगाउन सक्ने त्यही विजेताले नै दशकसम्म आफ्नो प्रयोगकर्ता गुमाउनुपर्ने छैन । एगप्लान्टका बेट्सको अनुमानमा अबको दशकको अन्त्य स्मार्टफोनबाट हुनेछ सँगै वेयरेबल डिभाइसको जन्म पनि हुनेछ । यो अनुमानले भने सेवाप्रदायकलाई पक्कै खुसी बनाउनेछ ।