काठमाडौ । नेपाल टेलिकम र एप्पलको आधिकारिक बिक्रेता इभोलुसन ट्रेडिङ प्रालिको सहकार्यमा एप्पलको मोबाइल फोन (आइफोन) खरिदकर्ताका लागि कम्पनीको डाटा प्याकेज बण्डलिङ गरी उपलब्ध गराउने सम्बन्धमा सम्झौता भएको छ ।
सो सम्बन्धी सम्झौतामा टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी र इभोलुसन ट्रेडिङ प्रालिका निर्देशक तरुण बज्राचार्यले हस्ताक्षर गरेका हुन । उल्लेखित सम्झौता अनुसार इभोलुसन ट्रेडिङका काठमाडौं उपत्यकामा रहेका ७ वटा र उपत्यका बाहिर सञ्चालन हुने आउटलेट मार्फत आइफोन १३ वा सो भन्दा माथिल्लो भर्सनका आइफोन खरिद गर्ने ग्राहकलाई प्रतिमहिना ५ जीबी डाटा चलाउन मिल्ने प्याकेज १२ महिनाका लागि निःशुल्क उपलब्ध हुनेछ ।
नेपाल टेलिकमका ग्राहकले हाल प्रयोग गरिरहेको नेपाल टेलिकमको पोस्टपेड वा प्रिपेड सिम खरिद गर्ने आइफोन १३ मा प्रयोग गर्ने अवस्थामा उल्लिखित डाटा प्याकेज सोही सिममा उपलब्ध गराउने पनि जनाएको छ ।
उक्त आइफोनमा ग्राहकले टेलिकमको नयाँ सिम लिई प्रयोग गर्न चाहेमा कम्पनीले नयाँ प्रिपेड सिम इभो स्टोर मार्फत निःशुल्क उपलब्ध गराउने छ ।
सो सिममा मेन व्यालेन्स १० रुपैया र थप व्यालेन्स ४० रुपैया उपलब्ध हुनेछ । उक्त थप व्यालेन्सबाट कम्पनीको नेटवर्क भित्र ४० मिनेट भ्वाइस कल र २० वटा सन्देशका साथै ६० एमबी डाटा एक महिनाभित्र उपयोग गर्न सकिने उल्ल्ेख छ ।
एप्पलको नयाँ भर्सन प्रयोगकर्तालाई बण्डल गरिएको टेलिकमको डाटा प्याकेज थप आकर्षण हुने अपेक्षा गरिएको पनि विज्ञप्तिमा उल्लेख छ ।