काठमाडौं । दशैंले बजारलाई अहिले छपक्कै छोपेको हुनुपर्ने हो तर, बजारमा सामान किनमेल गर्नेको कमी हुँदा व्यापार हुन सकेको छैन। ब्यापार नभएपनि मुल्य भने गत बर्षको भन्दा २० प्रतिशत बढेको छ।
बिहीबारबाट दसैँ सुरु भएसँगै बजारमा पनि सामान किन्नेहरुको चहलपहल बढ्न थालेको छ। नयाँ कपडा लगाउन दशैं कुर्ने बानी हटिनसकेका कारण पनि बजारमा भीड बढेको हो। तर, बजारमा आफूहरुले चाहे जस्तो सामान नहुँदा ग्राहकहरु भने निरास भएर फर्कन बाध्य भएका छन्।
सामान पाएपनि धेरै महँगो भएको प्रतिक्रिया ग्राहकको छ। खासगरी काठमाडौंको भोटाहिटी, असन, इन्द्रचोक, खिचापोखरी लगायका क्षेत्रमा आउने ग्राहकहरुले लत्ताकपडा, जुत्ता लगायतका सबै सामानको भाउ निकै महङ्गो रहेको बताएका छन्। यस्तै, उनीहहरुले बजारमा नयाँ सामानहरु नदेखिएको पनि बताएका छन्।
ब्यापारीहरुले पनि यस बर्षको दशैंमा लत्ताकपडा लगायतका सामानहरुको मूल्य वृद्धि भएको बताउँछन्। उनीहरुले दसैंलाई लक्षित गरेर ल्याइएका सामान नेपाल र चीनबीचको भन्सार नाकामै लामो समयसम्म रोकिंदा बजारमा अभाव भएको बताए। यसबाहेक भन्सारको मूल्याङकन पनि बढेको कारण महँगी बढेको बताएका छन्।
उनीहरुका अनुसार, यो बर्ष २० प्रतिशतभन्दा धेरै मूल्यवृद्धि भएको छ। व्यापारीहरुले ग्राहकहरुको आगमन कम हुँदा व्यापार पहिलेको भन्दा खस्किएको पनि बताएका छन्। उनीहरुले दशैं सुरु भएसँगै व्यस्त हुनुपर्ने बेला मोवाइल खेलाएर दिन काट्न बाध्य हुनुपरेको पनि गुनासो गरेका छन्।
व्यापारीले सोचेअनुसारको व्यापार नभएको बताइरहँदा बजारमा भीड लाग्ने क्रम भने दिनहुँ बढिरहेको छ।