२०८२ बैशाख ११ बिहीबार

नयाँदिल्ली- भारतको केन्द्रीय बैंक ‘रिजर्भ बैंक अफ इन्डिया’ (आरबीआई)ले डिजिटल मुद्राको परीक्षण गर्ने तयारी गरेको छ। आगामी डिसेम्बर महिनासम्ममा डिजिटल मुद्राको परीक्षण सुरु गर्ने तयारीका लागि हाल अध्ययन भइरहेको आरबीआईका गभर्नर शक्तिकान्त दासले जानकारी दिएका हुन्।

सीएनबीसी टेलिभिजनलाई अन्तर्वार्ता दिँदै गभर्नर दासले डिजिटल मुद्रालाई चलनचल्तीमा ल्याउनु भारतका लागि मात्र नभएर विश्वकै लागि नयाँ भएकाले यसमा आफूहरू सचेत भएको बताए। ‘भारतका लागि मात्र नभएर विश्वकै लागि यो प्रविधि पूर्ण रूपमा नयाँ भएकाले हामी यसमा निकै सचेत छौँ,’ अन्तर्वार्ताका क्रममा गभर्नर दासले भनेका छन्, ‘यो वर्षको अन्त्यसम्ममा यसको परीक्षण सुरु गर्न हामी सफल हुनेछौँ भन्ने मलाई लागेको छ।’

डिजिटल मुद्राको परीक्षण र कार्यान्वयनका लागि सुरक्षा चुनौती, वित्तीय क्षेत्रमा पर्ने प्रभाव, बजारमा मुद्रा परिचालन, समग्र मौद्रिक बजार र अर्थतन्त्रमा पार्ने प्रभावका विषयमा अध्ययन भइरहेको गभर्नर दासले जानकारी दिए।

भारतीय केन्द्रीय बैंकले जारी गर्ने तयारी गरेको डिजिटल मुद्रा भौतिक मुद्राकै डिजिटल संस्करण हो। भारतले यसलाई ‘डिजिटल रुपैयाँ’ नाम दिने तयारी गरेको छ।

गत महिना पनि आरबीआईका डेपुटी गभर्नर टी रविशंकरले केन्द्रीय बैंकले डिजिटल मुद्रा कार्यान्वयनका लागि अध्ययन गरिरहेको बताएका थिए।

पछिल्लो समय विश्वका विभिन्न देशका केन्द्रीय बैंकहरूले डिजिटल मुद्राका लागि काम गर्दै आएका छन्। केन्द्रीय बैंकले व्यवस्थापन गर्ने यस्ता डिजिटल मुद्रालाई सेन्ट्रल बैंक डिजिटल करेन्सी (सीबीडीसी) भनिन्छ। भारतसहित चीन, बेलायत तथ युरोपका केन्द्रीय बैंकहरुले पनि डिजिटल मुद्राको सम्भाव्यता अध्ययन तथा अनुसन्धानमा छन्।

नेपालमा पनि चालु आर्थिक वर्षको बजेटमा डिजिटल मुद्राका विषयमा अध्ययन गरिने उल्लेख गरिएको छ। नेपाल राष्ट्र बैंकले बिटक्वाइनलगायतका क्रिप्टोकरेन्सीको कारोबारमा भने बन्देज लगाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर