
काठमाडौं । सरकारले बजेट प्रतिस्थापन विधेयकमार्फत नेपालभित्रै डण्डी उत्पादनलाई प्रोत्साहन गर्नका लागि गरेको नयाँ प्रावधानले स्वदेशी उत्पादन बढाउन र देशभित्र औद्योगिक वातावरण बनाउन सहयोग गर्ने नेपाल रोलिङ्ग मिल्स एशोसिएसनकाे प्रतिक्रिया छ ।
एसाेसिएसनले स्वदेशभित्रै विलेट उत्पादन गर्नका लागि कच्चा पदार्थ स्पन्ज आइरन आयातमा लाग्दै आएको भन्सारलाई शून्यमा झार्नु स्वागतयोग्य कदम रहेकाे प्रतिक्रिया दिएकाे हाे । एसाेसियनसनद्वारा जारी विज्ञप्तीमा भनिएकाे छ, ‘यसले देशभित्रै कच्चा पदार्थ मार्फत विलेट उत्पादन गर्न र सो बिलेटमार्फत स्वदेशमा नै डण्डी उत्पादन गर्न सकिने र यसले देशभित्रै लगानी बिस्तार गर्न, भविश्यमा निर्यातको वातावरण बनाउन र स्वदेशमा नै रोजगारी सिर्जना गर्नेछ ।’
एसाेसिएिनका अनुसार बजेटमा आएका नयाँ व्यवस्थाले स्वदेशी पूँजी र सिपमार्फत देशभित्र थप ६ अर्बको लगानी रोलिङ्ग मिल्स तथा डण्डी उद्योगमा थप हुनेछ । कोभिड १९ बाट शिथिल रहेको स्वदेशी अर्थतन्त्रलाई यसले चलायमान बनाउन देशमा औद्योगिक वातावरण सिर्जना गर्न, विदेशी मुद्रा बाहिरिनबाट बचाउनुका साथै सरकारलाई समेत राजश्व वृद्धिमा सकारात्मक प्रभाव पार्ने एशोसिएसनको ठहर छ ।
सरकारले बजेटमार्फत डण्डी बनाउन चाहिने बिलेट स्वदेशमा नै उत्पादन गर्नका लागि आवश्यक पर्ने कच्चा पदार्थ स्पन्जको भन्सार शुन्य गर्नुले देशभित्रै उद्योगहरुले लगानी बिस्तार गरेर बिलेट उत्पादन गर्दै आत्मनिर्भरको बाटोमा अग्रसर हुनेछ ।
‘नयाँ व्यवस्थाले स्वदेशभित्र उत्पादन भईरहेको विद्युतको खपतलाई पनि सहयोग गर्दछ । उत्पादन भईरहेको विद्युत खपत नहुने चिन्ताका विचमा विद्युत खपत बढाउनेछ,’ विज्ञप्तीमा भनिएकाे छ, ‘यसले आगामी दिनमा स्वदेशी डण्डी उद्योगहरुले नयाँ आयोजनाबाट उत्पादन हुने ३ हजार मेगावाट विद्युतलाई खपत गर्न समेत सहयोग पुर्याउँछ ।
विद्युत खपत गर्ने मात्र नभई यसले हाल स्टील उद्योगमा उपयोग गर्नुपर्ने फर्नेस आयल आयातमा भारत र अन्य मुलुक जाने गरेको करिब ४.५ अर्ब रुपैयाँ समेत स्वदेशभित्रै रहनेछ र यसले अन्य उद्योगहरुमा थप लगानी गर्न सकिनेछ ।’
हाल नेपालमा करिब १६ लाख टन वार्षिक विलेट उत्पादनको क्षमता छ । जडित क्षमताको ८० देखि ९५ प्रतिशतसम्म उत्पादन हुनेगरी उद्योग संचालन गर्न सकिने र छिटै नै १० लाख टन बिलेट उत्पादन हुनेगरी उद्योग बिस्तार तथा योजना बनाउन सकिने एसाेसियनकाे भनाइ छ ।
यसका साथै स्वदेशभित्रै पूर्णरुपमा बिलेट उत्पादन गर्दा सर्वसाधारण ग्राहकहरुले सिधै लाभ पाउने, कच्चा पदार्थ बाहेक समग्र सामग्री स्वदेशभित्रै उत्पादन गर्न सकिएको खण्डमा यसले ग्राहकहरुले किन्ने डण्डीको लागत घट्ने र ग्राहकरुलाई समेत सस्तो हुने एसाेसिएसनकाे भनाइ छ ।
यसैबिच यस नेपाल रोलिङ्ग मिल्स एशोसिएसनको नाममा केहि समूह तथा व्यक्तिहरुले अनधिकृतरुपमा पत्रकार सम्मेलन गरी भ्रम सिर्जना गर्ने काम गरेको भन्दै एशोसिएसनले गम्भिर आपत्ति जनाएको छ। ‘एशोसिएसनको नाममा त्यस्ता गतिबिधिहरु नगर्न र कसैले पनि सो बारेमा भ्रामक धारणा नबनाउन हार्दिक अनुरोध गर्दछौं,’ विज्ञप्तीमा भनिएकाे छ ।