काठमाडौं । यो देशमा तेलमा खेल निरन्तर छ । कहिले नरोकिने यो खेलमा अहिले मानिसले खाने खाने तेल पनि मिसिएको छ । सवारी साधनले खाने तेलको कुरै छाडौ, हरेक १५ दिन विराएर बढ्ने इन्धनको मूल्यलाई अब खाने तेलले माथ गर्ने भएको छ ।
दुई बर्ष अघिदेखि बेलगाम बनेर हुँइकिएको खाने तेलको मूल्य अब कसैको नियन्त्रणमा रहेन । सरकारी निकाय तेलको मूल्य बढेको देख्दैन तर व्यापारी र उद्योगीहरुले हरेक महिना त के साता दिनमा नै मूल्य बढाएर उपभोक्ताको ढाड सेकिरहेका छन् ।
तेल उद्योगीहरु नेपालको बजारमा भन्दा बढी भारतीय बजारमा तेल निर्यात गरेर मनग्ये कमाउन पल्केको बेला नेपाली उपभोक्ताहरुलाई भने मनपरी मूल्य कायम गरेर अलिनो खान बाध्य तुल्याउन खोजिरहेका छन् । साँझ विहान भान्साको लागि अनिवार्य बनेको तेलको मूल्यमा आएको उत्तारचढावले उपभोक्ताहरु हरेक हप्ता तनावमा पर्ने गरेका छन् ।
बजारमा तेलमात्र नभइ हरेक वस्तु महंगिएका छन् । सरकारको गतिलो उपहार बनेको यो महंगीमा खाने तेलले देखाएको तमाशाले भने सबै आजित छन् । अझ दुई ठूला चाडबाड नजिकिदै गर्दा महंगिएको बजार भाउले यही गति कायम राखे दशैं र तिहारमा नेपाली जनताको ढाड नराम्ररी सेकिने पनि निश्चित छ ।
खपत ३४ अर्ब, आयात साढे ४ अर्ब, निर्यात ९ अर्ब
नेपाली बजारमा बार्षिक झण्डै ३४ अर्ब रुपैयाँ बराबरको तेल खपत हुने गरेको छ । तर लगातार तेलहन बालीको क्षेत्रफल घटदै गएपछि नेपाली बजारमा तेल आयातको आयतन पनि फराकिलो बन्दैछ ।
यता नेपाली उद्योगहरुले खाने तेलको भारततर्फ निकासी क्रम पनि हरेक बर्ष बढ्दो छ । नेपालले हरेक बर्ष साढे चार अर्ब रुपैयाँको हाराहारीमा तेल आयात गर्ने गरेको छ ।
नेपालमा २० वटा तेल उद्योगहरुबाट भटमासको तेल दैनिक १५० मेट्रिक टन, सूर्यमुखी तेल ७५ मेट्रिक टन र तोरीको तेल दैनिक ७० मेट्रिक टन उत्पादन गर्दै आएका छन् । तर बजारमा तेलको मूल्य चुलिएपछि हरेक उपभोक्ताको भान्सा महंगो बन्न थालेको छ ।
गत वर्ष भदौंमा प्रतिलिटर १२० देखि १३० रुपैयाँ अधिकतममा खरिद गरेका हरेक प्रकारका तेलको मूल्य अहिले २५० रुपैयाँभन्दा माथि पुगेको उपभोक्ताहरुको गुनासो छ ।
भारतको बजारमा निर्वाध निर्यात हुन्छन् नेपाली तेल
नेपालमा २० वटा उद्योगहरुले तेल उत्पादन गरिरहेपनि कार्टेलिङ गर्ने गरेको उद्योगीहरुले तेलको व्यापार गरिरहेको बाणिज्य विभागको निष्कर्ष छ । नेपालमा तेलको मूल्य हरेक साता बढ्दा पनि व्यापारीहरुले भारततर्फ निकासी गरेर मनग्ये कमाउने धन्दालाई जारी राखेका छन् ।
चालु आर्थिक वर्षको एक महिनामा मात्रै भटमास र सूर्यमुखी तेलको निर्यात भारततर्फ चुलिएको थियो । करिब ९ अर्ब रुपैयाँ बराबरको तेल भारततर्फ निकासी भएको रेकर्ड भन्सार कार्यालयसंग सुरक्षित छ ।
उद्योग विभागका अनुसार ७९ करोड १९ लाख बराबरको स ४० लाख १६ हजार लिटर सूर्यमुखी तेल उद्योगीहरुले भारतीय बजारमा पठाएका छन् ।
अस्वाभाविक मूल्य वृद्धि हुँदा पनि सबै चुप
नेपाली तेल उद्योगहरुमाथि निगरानी बढाउन नसक्दा र उनीहरुको उत्पादनलाई नियन्त्रणमा लिएर देशभर पुर्याउन नसक्दा नेपाली उपभोक्ता आयातित र महंगो तेल खान बाध्य छन् ।
पछिल्लो एक महिनामा बढेको तेलको अस्वभाविक मूल्यका कारण उपभाक्ताले प्रतिलिटर ४० रुपैयाँसम्म बढी तिरेका छन् । बजारमा पाइने धारा, फेमिली, अमृत,किरण, सुनौलोलगायतको तेलको मूल्य हरेक साता अकाशिने गरेपनि उपभोक्ताको नाममा खोलिएका बिभिन्न संस्थाहरु पनि रमिते मात्र बनेका छन् ।
नेपाल खुद्रा व्यापार संघ पनि आजित
बजारमा तेलको मूल्य नियन्त्रण बाहिर गएपनि नेपाल खुद्रा व्यापार संघ पनि आजित बनेको छ । मूल्य अनियन्त्रित बनेर आकाशिदा तेल नै विक्रि गर्न नसक्ने अवस्थामा पुुगेको खुद्रा व्यापार संघको भनाइ छ ।
तेल उद्योगी एवं व्यापारीहरु बढेको मूल्यको विषयमा कुनै प्रतिक्रिया दिन चाहदैनन । भरसक भागेर नै जित्न खोज्ने नियतमा रहेका उद्योगीहरुले नेपाली उपभोक्तालाई मारेर भारतीय उपभोक्तालाई पोस्ने नीति लिएको छर्लङ्ग छ ।
त्यसैले पनि सरकारले बजारमा नै हस्तक्षेप गरेर तेलको मूल्य स्थिर राख्नु पर्ने आवाजहरु उठन थालेका छन् ।