
काठमाडौं। बैंकिङ प्रणालीमा तरलता चरम अभाव थप गहिरिन थालेको छ। प्रणालीबाट निक्षेप नै गायब हुन थालेपछि तरलता अभाव गहिरिन थालेको हो।
नयाँ आर्थिक वर्ष लागेपछि ८५ अर्ब रुपैयाँ तरलता गायब नै भइसकेको छ। अर्कोतिर बैंकहरुले ऋण भने बढाइरहेका छन्। यही कारण तरलता अभाव चुलिन थालेको हो। यद्यपि राष्ट्र बैंकका अधिकारीहरु र बैंकरले भने अहिलेको अभाव अल्पकालीन भएको दाबी गरिरहेका छन्।
बैंकहरुले शुक्रबार मात्रै १० अर्ब १५ करोड रुपैयाँ स्थायी तरलता सुविधा (एसएलएफ) प्रयोग गरेका छन्। पछिल्लो एक सातायता एसएलएफ प्रयोग गर्नेहरु बढेका छन्। अनिवार्य तरलता अनुपात (सीआरआर) तीन प्रतिशत कायम गर्ने पैसासमेत नहुँदा बैंकहरुले एसएलएफ उठाएका हुन्।
एसएलएफको ब्याज ५ प्रतिशत हुन्छ। अन्तर बैंकमा सापटी नपाउने भएपछि बैंकहरुले महँगोमा एसएलएफ उठाउँछन्। एसएलएफ यस्तो मौद्रिक औजार हो, जुन बैंकहरुले मागेकै बेला पाउँछन्। बैंकहरुले तुलनात्मक रूपमा सस्तो पर्ने रिपो माग गरिरहेका छन्। राष्ट्र बैंकले रिपो भने जारी गरिरहेको छैन।
अन्तर बैंक सापटी निरन्तर बढ्न थालेको छ। अहिले सापटी दर ४.७६ प्रतिशत पुगिसकेको छ। यो औसत दर हो। सापटी ४.९६ प्रतिशतसम्म पुगेको थियो।