२०८१ मंसिर २३ आईतवार

काठमाडौं- स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले कोरोनाविरुद्धको खोप आपूर्ति र खोप लगाउने कार्य सरकारको पहिलो प्राथमिकतामा रहेको बताउनुभएको छ ।

प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्यसमितिको बैठकमा उहाँले दैनिक तीन लाख व्यक्तिले कोरोनाविरुद्धको खोप लगाइरहेको जानकारी दिनुभयो । “खोप लगाउने कार्य तीब्र जारी छ , दैनिक पाँच लाखलाई खोप लगाउने योजना छ”, उहाँले भन्नुभयो । हालसम्म कोरोनाविरुद्ध ९० लाख ७७३ मात्रा लगाइसकेको उहाँले जानकारी दिनुभयो ।

“हालसम्म ४० लाख १३ हजार ८८० जनाले खोपको पूरा मात्रा लगाएका छन्”, उहाँले भन्नुभयो, “खोपको पहिलो मात्रा लगाउनेको सङ्ख्या १८ प्रतिशत तथा दोस्रो मात्रा लगाउनेको सङ्ख्या ३० प्रतिशते छ ।” वर्तमान सरकारले कोरोना विरुद्धका पाँच करोड ३० लाख मात्रा खोपको सुनिश्चितता गरिसकेको सो अवसरमा उहाँले जानकारी दिनुभयो ।

सरकारले दुर्गम र विकट जिल्लालाई खोप लगाउनका लागि प्राथमिकतामा राखेको उहाँले बताउनुभयो । “थोरै जनसङ्ख्या तथा उपचार गर्न कठिनाइ हुने हुँदा पहिला दुर्गम जिल्लाका बासिन्दालाई खोप लगाइसक्छौँ”, उहाँले भन्नुभयो ।

जापानले उपलब्ध गराएको पाँच लाखभन्दा बढी डोज खोप मौज्दात रहेकाले त्यसलाई विद्यार्थीका लागि छुट्टयाएर हाल लगाउने काम जारी रहेको राज्यमन्त्री श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार काठमाडौ उपत्यकामा ६० हजार विद्यार्थीलाई लगाउने लक्ष्य मध्ये हालसम्म २३ हजारले लगाइसकेका छन् ।

प्रदेश १ र प्रदेश २ मा खोप पर्याप्त मात्रामा पठाइएको राज्यमन्त्री श्रेष्ठले बताउनुभयो । अन्य प्रदेशमा समेत खोप पठाउने कार्य भइरहेको उहाँले उल्लेख गर्नुभयो ।

विगतमा रकम तिरिसकेको १० लाख डोज खोप आपूर्ति गर्ने सम्बन्धमा यहाँस्थित भारतीय राजदूतसित छलफल भएको राज्यमन्त्री श्रेष्ठले जानकारी दिनुभयो । “भारतबाट खोप चाँडै आपूर्ति हुन्छ, अब त्यसमा बिलम्ब हुँदैन्”, उहाँले भन्नुभयो ।

अठार वर्षभन्दा कम उमेर भएकाका लागि मोडर्ना र फाइजरको खोप आपूर्तिको पहल भइरहेको उहाँले बताउनुभयो । कक्षा १२ को परीक्षा यही भदौ अन्तिम वा असोज पहिलो साता गर्ने योजना रहेको उहाँको भनाइ थियो । “होम सेन्टरबाटै परीक्षा सञ्चालन गर्ने योजना छ”, उहाँले भन्नुभयो ।

हाल काठमाडाँैँ उपत्यकामा १३५ खोप केन्द्रमार्फत खोप लगाउने कार्य भइरहेको उहाँले बताउनुभयो । शिक्षा र स्वास्थ्यमा जनशक्ति अभाव भएकाले काम समयमै गर्न नसकिएको भन्दै राज्यमन्त्री श्रेष्ठले चाँडै नै कर्मचारीको व्यवस्था गरी द्रुतगतिमा काम अघि बढाइने समितिलाई जानकारी गराउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय