काठमाडौं । काठमाडौंमा भदौ ९ गतेदेखि कोभिड–१९ विरुद्धको दोस्रो डोज लगाइने भएको छ । साउन १४ गतेदेखि भेरोसेलको पहिलो डोज लगाई तीन हप्ता पूरा भएका २ लाख १६ हजार नागरिकहरुलाई दोस्रो डोज दिइन लागेको हो । काठमाडौं जिल्लाका १४४ खोप केन्द्रबाट भेरोसेलको दोस्रो डोज दिइन लागेको स्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ ।
काठमाडौंमा शुक्रबारदेखि नै १८ वर्षमाथिका प्लस टु अध्ययनरत र विश्व विद्यालय तहको परीक्षाको प्रवेश पत्र लिएका विद्यार्थीहरुलाई भेरोसेल खोपको पहिलो डोज दिइने भएको छ । शुक्रबारदेखि नै काठमाडौंमा ४० वर्षमाथिका नागरिकलाई पनि भेरोसेल खोपको पहिलो डोज दिइने स्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ । खोप अभियान भदौ ४ गतेदेखि ६ गतेसम्म सञ्चालन हुने जनाइएको छ ।