
काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) का कार्यकारी प्रमुख चन्द्रसिंह साउदले आचारसंहिता र कानुनले नरोकेकाले आफूले शेयर खरिद गरेको स्वीकार गर्नुभएको छ ।
प्रतिनिधिसभा, अर्थ समितिको आजको बैठकमा सर्वोत्तम सिमेन्टको शेयर खरिद प्रकरणबारे स्पष्ट पार्नुहुँदै नेप्सेका कार्यकारी प्रमुख साउदले प्राथमिक बजारमा कानुनले सेयर खरिद गर्न नरोकेकाले सेयर खरिद गरेको स्वीकार गर्नुभयो ।
उहाँले नियामक निकायका पदाधिकारीले गरेको सेयर खरिदमा नैतिक प्रश्न उठेपछि भने सेयर खरिद नगरेकै भए पनि हुने रहेछ भन्ने लागेकाले अबदेखि यस्ता विषयमा आफु टाढै रहने बताउनुभयो ।
बैठकमा सांसदहरुले नियामक निकायका प्रमुखहरू नै कानुनी छिद्रहरूको प्रयोग गरेर सेयर खरिद गतिविधिमा संलग्न हुनु कानुनी र नैतिक दुवै दृष्टिबाट गलत रहेको बताउनुभयो ।
नियामक निकायका प्रमुखहरू व्यक्तिगत रूपले सेयर खरिदमा संलग्न भए पनि अर्थ मन्त्रालयले संस्थागत स्पष्टीकरण सोध्ने कुराको तालमेल नमिलेको सांसदहरूको भनाइ थियो ।
बुक बिल्डिङमार्फत शेयर निष्कासनको तयारीमा रहेको सर्वोत्तम सिमेन्टको शेयर खरिदमा नियामक निकाय धितो पत्र बोर्डका अध्यक्ष भीष्मराज ढुङ्गाना र नेप्सेका सिइओ चन्द्रसिंह साउदको नाम जोडिएपछि समितिले बोर्ड र नेप्से दुवैलाई बोलाएर छलफल गरेको छ ।