काठमाडौं। नेपाल राष्ट्र बैंकले अनिवार्य तरलता अनुपात (सीआरआर) बाहेक बैंक तथा वित्तीय संस्थाको ३१ अर्ब २८ करोड आफूसँग रहेको जनाएको छ।
राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बुधबार संसदको अर्थसमितिमा बोल्दै अहिले अधिक तरलताको अवस्था रहेको बताए। उनले यही कारण अहिले अन्तर बैंक सापटी दर १.०६ प्रतिशत कायभ भएको जानकारी दिए।
राष्ट्र बैंकका अनुसार गत आर्थिक बर्ष बैंकहरुले तरलता चाहिएका बेला रिपोमार्फत ६७ अर्ब ९४ करोड रुपैयाँ चलाएका छन्। यसबाहेक ५ प्रतिशत ब्याजको स्थायी तरलता सुविधा ३७० अर्ब ३४ करोड रुपैयाँ चलाएका छन्। तरलताकै लागि भनेर बैंकहरुले कुल ४३८ अर्ब २८ करोड रुपैयाँको सुविधा लिएको राष्ट्र बैंकले जनाएको छ।
पोहोर ३०३ अर्ब २१ करोड बराबरको तरलता प्रशोचन भएको छ। यो निक्षेप संकलन उपकरण र रिभर्स रिपोको माध्यमबाट भएको हो। राष्ट्र बैंकले पछिल्ला दिनहरुमा ब्याज दरसँगै स्प्रेड दर पनि घट्दै गएको जनाएको छ। जेठमा ब्याज स्प्रेड ३.७४ प्रतिशतमा आएको छ।