कोभिड १९ महामारीको दोस्रो लहरबाट आक्रान्त भारत अबका केही महिनाभित्रैमा १ अर्ब ४० करोड जनसंख्यामध्ये अधिकांशलाई खोप दिने तयारीमा जुटिसकेको छ। यसका लागिभारतलाई आगामी डिसेम्बरसम्ममा २ अर्बभन्दा बढी खोप आवश्यक पर्ने अनुमान गरिएको छ। हाल भारतका सबैजसो ठूला औषधी कम्पनीहरु कोभिड बिरुद्धको खोपको उत्पादन र यसको आपूर्तिका लागि काम गरिरहेका छन्।
यसकारण भारतले आफ्ना नागरिकलाई खोप दिने लक्ष्य पूरा गर्न सक्छ भने अर्को तर्फ भारतका सबै कोभिड १९ बिरुद्धका खोप उत्पादक कम्पनीहरुको कमाइमा पनि तीव्र वृद्धि हुने देखिन्छ।
भारतमा हुने सस्तो औषधी उत्पादन तथा वार्षिक २४ अर्ब भन्दा बढीको निर्यात गरिरहेको भारतका औषधी कम्पनीहरु अब कोभिड महामारी विरुद्धको खोप उत्पादन गरी भारतलाई खोपको पनि पावर हाउस बनाउनतिर लागिसकेका छन्।
भारतको सिरम इन्स्टिच्यूट अफ इन्डिया खोपको डोज उत्पादन संख्याका हिसाबले विश्वकै सबैभन्दा ठूलो कम्पनी हो। कम्पनीका अध्यक्ष साइरस पुनावाला कोभिड भ्याक्सिनको उत्पादन र निर्यातका कारण हाल अर्बपतिको सूचीमा छन्।
भारतका नामी औषधी उत्पादक कम्पनीहरु कोभिडविरुद्धको खोप उत्पादन तथा बिक्रीमा अग्रपङ्क्तिमा देखिन्छन्। तर दुर्भाग्य हाल कोभिड-१९ खोप अभावका कारण भारतभित्र नै खोपको मात्रा पूरा हुन नसकिरहेको अवस्था छ।
हाल भारतको सम्पूर्ण जनसंख्याको जम्मा १० प्रतिशतले मात्र पूर्ण खोप पाएका छन् भने एक तिहाइले कम्तीमा एक मात्रा खोप पाएका छन्।
विश्व स्वास्थ्य संगठनका अनुसार भारतमा पाँच किसिमका कोभिड-१९ विरुद्धको खोपले प्रयोग गर्न पाउने मान्यता पाइसकेको छ भने १३ किसिमका खोपहरु क्लिनिकल ट्रायलको विविध चरणमा रहेको बताइएको छ।
महामारीको सुरुवातमै पुनावालाको छोरा आधार पुनावालाले फ्याक्ट्री निर्माणमा ८० करोड डलर खर्चिने प्रतिबद्धतासहित कोभिड-१९ विरुद्धको भ्याक्सिन उत्पादन थालेका थिए।
पुनास्थित कम्पनीले हाल एस्ट्रा जेनेकासँगको सम्झौता अनुसार मासिक रुपमा १ करोड १० लाख डोज कोभिशिल्ड उत्पादन गरिरहेको छ। यसको मूल्य प्रति डोज ४०० देखि ६०० भारु राखिएको छ। कोभिशिल्डले सिरमका लागि मासिक ६० करोड डलर आम्दानी गर्ने अनुमान गरिएको छ।
यो सँगै सेरमले कोभिड-१९ कै लागि अन्य भ्याक्सिनहरु पनि विकास गरिरहेको छ। सिरमले नोभाभ्याक्स सँगको सम्झौता अनुसार भारतका लागि कोभाभ्याक्स उत्पादनमा काम गरिरहेको छ। यस्तै कोडाजेनिक्ससँगको साझेदारीमा कोभि भ्याक र इन्ट्रा नाजल भ्याक्सिन उत्पादनको तयारी गरिरहेको छ।
जुलाइमा नै सिरमले रुसको स्पुतनिक-भी भ्याक्सिनलाई पनि भारतबाट उत्पादन गर्ने घोषणा गरिसकेको छ।
कोभिशिल्ड बाहेक भारतीयहरुले हाल कोभाक्सिन खोप पनि लगाइरहेका छन्, जसलाई हैदराबादको अर्को भ्याक्सिन उत्पादक कम्पनी भारत बायोटेक इन्टरनेशनलले उत्पादन गरिरहेको छ।
यसलाई उद्यमी कृष्णा एलाको कम्पनी भारत बायोटेकले इन्डियन काउन्सिल अफ मेडिकल रिसर्चसँग मिलेर कोभाक्सिन उत्पादन गरिरहेको छ। यसले मासिक २ करोड ५० लाख डोज खोप उत्पादन गर्छ। भारत बायोटेककले इन्ट्रा नाजल भ्याक्सिनको पनि उत्पादन गरिरहेको छ र यसलाई क्लिनिकल ट्रायलका लागि तयारी भइरहेको बताइएको छ।
हैदराबाद शहरका लागि अर्को खोप निर्माता कम्पनी बायोलोजिकल इ पनि छ, जसले जोनसन एण्ड जोनसनको जानसेन भ्याक्सिन बनाउने लाइसेन्स लिएको छ। यसले डाइनाभ्याक्स र बेलर कलेज अफ मेडिसिनसँग मिलेर कोर्बेभ्याक्स नामको खोपको विकास गरिरहेको छ। यो खोप हाल तीन चरणको ट्रायल पार गर्ने प्रक्रियामा गइसकेको बताइएको छ।
बायोलोजिकल इले क्यानेडियन बायोटेक फर्म प्रोभिडेन्स थेराप्युटिक्स होल्डिङ्ग्ससँगको सहकार्यमा पीटीएक्स कोभिड-१९ बी नामको एमआरएनए भ्याक्सिन उत्पादन गर्न सम्झौता गरिसकेको छ।
यस सम्झौता अनुसार प्रोभिडेन्सले ३ करोड डोज बायोलोजिकल इ तथा अन्य खरिदकर्तालाई आपूर्ति गर्नुपर्ने हुन्छ। यसका लागि सन् २०२२ सम्ममा ६० करोड डोज खोप उत्पादन गर्ने योजना छ। यसले आफ्नो क्षमता बढाएर एक अर्ब डोज खोप उत्पादन गर्ने योजनामा काम गरिरहेको छ।
भारतमा कोभिड-१९ विरुद्धको खोपको उत्पादन र वितरणको अवसर लिनका लागि औषधी उत्पादक कम्पनीहरुको कोसिस निकै तीव्र देखिन्छ।
फर्मा बिलेनियर पंकज पटेलको जाइडस क्याडिला कम्पनीले पनि आफ्नो कोभिड-१९ माहमारीको खोप जाइकोभ डी उत्पादन गरेको छ। कम्पनीले यस खोपको तेस्रो ट्रायलका लागि काम अघि बढाएको छ र भारतको नियामक नियकासँग यसको आकस्मिक प्रयोगका लागि अनुमति पर्खिरहेको छ। यो खोप वयस्कहरुका लागि मात्र नभई बालबालिकाका लागि पनि प्रयोग गर्न मिल्ने गरी बनाइएको दाबी कम्पनीले गरेको छ।
पुनाको एमक्योर फर्मास्युटिकल्सको सब्सडायरी कम्पनी जेननोभा बायोफर्मास्युटिकल्सले अमेरिकाको एचडीटी बायोटेक कर्पोरेसनसँग मिलेर एचजीको १९ नामको एमआरएनए भ्याक्सिन बनाउने तयारी गरेको छ।
एमक्योरले स्टक मार्केटमा डेब्यु गर्ने तयारी समेत गरिरहेको छ। यो कम्पनीलाई सतीश मेहताले संचालन गर्छन्, जो यसअघि भारतकै धनाढ्यका रूपमा सूचीकृत भइसकेका छन्।
भारतमा विदेशी खोपहरु आयातको स्वीकृति पाएसँगै अर्बपति रेड्डी परिवारको स्वामित्वमा रहेको डाक्टर रेड्डीज ल्याब्रोटरिजले रुसको स्पुतनिक भी भ्याक्सिन भारतमा ल्याउने सम्झौता गरिसकेको छ।
रुसको डाइरेक्ट इन्भेष्टमेन्ट फण्डसँग सहकार्य सम्झौता भइसकेको छ। रुसी भ्याक्सिन भारतमा आयात गर्न भारतकै आधा दर्जन कम्पनीहरुले पनि रुससँग सम्झौता गरेका छन्।
हेटेरो बायोफर्मा, ग्ल्याण्ड फर्मा, स्ट्राइड फर्मा, पानास बायोटेक, बिर्चाउ ल्याब्रोरेटरिज तथा मोरफेन ल्याब्रोटरिजले पनि रुसी खोप स्पुतनिक भारतमा ल्याउन सम्झौता गरेका हुन्।
यस्तै युसुफ हमिदको फर्मा सिप्लाले पनि भारतमा मोर्डना भ्याक्सिन ल्याउने अनुमति लिइसकेको छ। अर्बपति युसुफ हमिदको कम्पनी सिप्लाले मोर्डना ल्याउने अनुमति पाएसँगै कम्पनीको सेयर मूल्यमा वृद्धि देखिएको छ। कम्पनीले हाल भारतमा मोर्डना खोप ल्याउनका लागि आवश्यक प्रक्रिया अघि बढाएको छ।
दुवै खोप मोर्डना र फाइजरले भारतमा बिक्री थाल्नु अगावै खोपको संभावित साइड इफेक्टबाट उत्पन्न हुन सक्ने कानुनी दायित्वबाट सुरक्षित रहनका लागि भारत सरकारसँग लबिङ गरिरहेको बताइएको छ। (फोर्ब्सबाट)