काठमाडौं । हेल्मेट नलगाइ बाइक कुदाउदै गरेको अवस्थामा पूर्वयुवराजधिराज पारस शाहलाई महाराजगञ्जमा ट्राफिक प्रहरीले रोकेपछि ट्राफिक र पारसबीच वादविवाद भएको थियो ।
उक्त वादविवादको लाइभ भिडियो सामाजिक सञ्जालमा आएपछि अहिले चर्चाको विषय बनेको छ । मदिराले लठ्ठ पारसले ट्राफिक प्रहरीसँग विवादको क्रममा आफूले चढ्ने अमेरिकामा बनेको बाइक नै हेल्मेट विना कुदाउने खालको भएको भनेपछि अहिले उक्त बाइकको विषयमा सर्वत्र चासो बढेको छ ।
पारसले चढेको यो मोटरसाइकल हार्ले डेभिड्सनको सफटेल हेरिटेज १९९५ मोडल हो । नेपालमा हार्ले डेभिड्सन मोटरसाइकलको लागि आधिकारिक वितरक आईएमई अटोमोटिभ्स हो । तर पारसले चढ्ने बाइकको मोडल भने हाल नेपालस्थित नेपालको शोरुममा उपलब्ध छैन । उक्त मोडलको मोटरसाइकल नेपाल ल्याइएमा ८५ देखि ९० लाखसम्म पर्नसक्ने आईएमई अटोमोटिभ्सले जनाएको छ । त्यसो त पारसले चढ्ने मोटरसाइकल पनि आईएमई अटोमोटिभ्सले नै सर्भिसिङ गर्ने गरेको छ ।
अटोमोबाइल हाइभका अनुसार नेपालमा हार्ले डेभिड्सनका तीन मोडल भने उपलब्ध छन् । हार्ले डेभिड्सन आइरन ८८३ को नेपाली मूल्य ४५ लाख रुपैयाँ रहेको छ । यस्तै हार्ले डेभिड्सन स्ट्रीट ७५० को नेपाली मूल्य २३ लाख रुपैयाँ पर्छ । हार्ले डेभिड्सनकै स्ट्रीट रड ७५० मोडलको मूल्य भने २७ लाख रुपैयाँ रहेको अटोमोबाइल हाइभको अनलाइन मूल्यसूचीमा उल्लेख छ । हार्ले डेभिड्सनका मोटरबाइक प्रिमियम ब्राण्डभित्र पर्दछन् । त्यसैले यसको मूल्य तुलनात्मक रुपमा यति धेरै महँगो भएको हो ।