
काठमाडौं । ग्रेट वाल मोटर्सले नेपाली बजारमा तीन नयाँ मोडलका गाडी भित्र्याएको छ । उच्च गुणस्तरयुक्त प्रविधि, उत्कृष्ट कार्य प्रदर्शन तथा आरामदायी सवारका लागि ग्रेटवाल मोटर्सका गाडी निकै उपयोगी रहेको कम्पनीको दाबी छ । नेपालको अटोमोटिभ डिलरसिप क्षेत्रमा अनुभवी विशाल ग्रुपको सहायक संस्था भीजी इम्पेक्स प्रालि नेपालका लागि ग्रेटवाल मोटर्सको आधिकारिक बिक्रेता रहेको छ । कम्पनीले दुई मोडलका एसयूभी र एक मोडलको पिकअप भ्यान ल्याएको हो ।
ग्रेटवाल मोटर्सको सोरुम थापाथलीमा रहेको छ भने निकट भविष्यमै देशभरि सोरुमको बृहत् सञ्जाल विस्तार गर्ने कम्पनीको तयारी छ । कम्पनीले ल्याएको थर्ड जेनेरेसन एचएभीएएल एच ६ गाडी एसयूभी वर्गमा सुविधा र लक्जरीको बेजोड नमुनाका साथै शक्ति र विलासिताको अनुपम संगम भएको बताइएको छ । २.० लिटरको दमदार टर्बो पेट्रोल इन्जिनले अधिकतम् आउटपुट दिने गाडीमा एक सय ५० किलोवाट शक्ति र तीन सय २० एनएम टर्क डिस्प्लेसमेन्टले बेग्लै अनुभूति प्रदान गर्ने कम्पनीको दाबी छ ।
हाइयर ग्राउण्ड क्लियरेन्सले नेपालकोे खाल्डाखुल्डी भएको सडकमा पनि आरामदायी सवारीको अनुभव गराउने बताइएको छ । पानोरामिक सनरूफ, अटोमेटिक वाइपर, मल्टी फन्सनल स्टेरिङ, आठ तरिकाले मिलाउन मिल्ने ड्राइभर सिट, ताररहित चार्जिङले गाडीलाई नयाँ स्वरूप दिएको छ भने आठवटा एअर ब्याग, तीन सय ६० डिग्रीमा हेर्न मिल्ने क्यामेरा, हिल होल्ड कन्ट्रोल, एबीएस तथा इबीडी सुविधा र एन्टी कोलिजन संयन्त्र सेकेन्ड कोलिजन संयन्त्र र फरवार्ड कोलिजन संयन्त्रले दुर्घटनाको सम्भावनालाई न्यूनीकरण गर्र्ने कम्पनीको भनाइ छ ।
गाडीको सुरुवाती मूल्य ९६ लाख ९९ हजार नौ ९९ रुपैयाँ रहेको छ । त्यस्तै एचएभीएल जोलियन ५५ लाख ४९ हजार नौ ९९ रुपैयाँ र पीओईआर पिकअपको ६४ लाख ९९ हजार नौ ९९ रुपैयाँ रहेको छ । विश्वस्तरमा आफ्नो उपस्थिति बनाउने पहिलो चिनियाँ अटोमोबाइल कम्पनी ग्रेटवाल मोटर्सले सन् १९९८ देखि अटोमोबाइल निर्यात गर्न सुरु गरेको थियो । विशेष गरी एसयूभी र ट्रक निर्यात गर्दै आएको कम्पनीले प्यासेन्जर भेहिकल पनि निर्यात गर्न थालेको हो । चीनबाहेक ६० भन्दा बढी मुलुकमा पाँच सयभन्दा बढी वितरकको अन्तर्राष्ट्रिय नेटवर्कमार्फत् गाडी बिक्री गर्दै आएको छ । कम्पनीले निकट भविष्यमै ओरा विद्युतीय गाडी नेपाली बजारमा ल्याउने भएको छ ।