काठमाडौं । २०७२ सालको भूकम्पको क्षतिपछिको निजी आवास पुनर्निर्माणमा ८३ प्रतिशत प्रगति भएको पाइएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको तथ्यांक अनुसार चालू आर्थिक वर्षमा असार मसान्तसम्मा निजी आवास पुनर्निर्माणका लागि ८ लाख २९ हजार ६१२ घरपरिवारले अनुदान सम्झौता गरेका छन्, जसमध्ये ६ लाख ८९ हजार ५४७ लाभग्राही (८३.११ प्रतिशत)ले पुनर्निर्माण सम्पन्न गरेका छन् ।
प्राधिकरणका अनुसार सम्झौता गरेकामध्ये ८ लाख २८ हजार ७५२ अर्थात् ९९.८९ प्रतिशत लाभग्राहीले पहिलो किस्ता लिएका छन् । अनुदान सम्झौता गरेकामध्ये ८६० ले मात्र पहिलो किस्ता लिन बाँकी छ । यस्तै दोस्रो किस्ता लिने घरधुरी ७ लाख ४१ हजार ९९५ छन् । यो अनुदान सम्झौता गरेकामध्ये ८९.४३ प्रतिशत हो ।
कुल अनुदान सम्झौता गरेका लाभग्राहीमध्ये आवास पुनर्निर्माण सम्पन्न गरेका र पुनःनिर्माण गर्दै रहेका लाभग्राही ७ लाख ५७ हजार ५८१ छन्, जुन अनुदान सम्झौता गरेकामध्ये ९१.३२ प्रतिशत हो । प्राधिकरणले आर्थिक वर्ष २०७७÷७८ मा निजी आवासतर्फ विनियोजित कुल बजेट २३ अर्ब ८५ करोडमध्ये २१ अर्ब ५६ करोड अर्थात् ९०.४१ प्रतिशत रकम खर्च गरेको छ ।
त्यस्तै समग्र पुनर्निर्माणका लागि विनियोजित बजेट रु ६९ अर्ब ३३ करोडमध्ये ५३ अर्ब खर्च भएको छ, जसअनुरूप आर्थिक वर्ष ०७७÷७८ मा प्राधिकरणले समग्र पुनर्निर्माणमा ७६.४४ प्रतिशत वित्तीय प्रगति हासिल गरेको प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले बताएका छन् ।