२०८१ मंसिर २३ आईतवार

काठमाडौँ । कोभिड–१९ संक्रमण रोकथामका लागि काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञालाई साउन १० गतेसम्म थप गरिएको छ ।
काठमाडौँ, भक्तपुर र ललितपुरका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठकले १० दिन निषेधाज्ञा थप गर्दै अझ खुकुलो बनाउने निर्णय गरेको हो ।

बैठकले औषधी तथा स्वास्थ्य सामग्री सम्बन्धी पसल जुनसुकै समयमा निर्बाध रुपमा सञ्चालन गर्ने पाइने, सबै प्रकारका पसल तथा व्यवसायहरू साँझ ७ः०० बजेसम्म सञ्चालन गर्न पाइने निर्णय गरेको छ ।

पसल तथा व्यवसाय सञ्चालन गर्दा कम्तीमा २ मिटरको भौतिक दूरी कायम गर्ने, अनिवार्य रुपमा स्यानिटाइजर व्यवस्था गर्ने र स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने यदि तोकेबमोजिम स्वास्थ्य मापदण्ड परिपालना नगरेको अनुगमनको क्रममा भेटिएमा पसल तथा व्यवसाय तत्काल बन्द गर्न सकिने जनाइएको छ ।

अत्यावश्यक वस्तुहरूको अनलाइन अर्डर, रेष्टुरेण्ट एवं फास्ट फुड तथा अन्य अर्डरहरू टेक अवे वा होम डेलिभरी प्रयोजनका लागि काठमाडौँ उपत्यकाभित्र साँझ ७ः०० बजेसम्म सञ्चालन गर्न पाइने निर्णय गरिएको तीन वटै जिल्लाका प्रमुख जिल्लाहरूद्वारा जारी विज्ञप्तिमार्फत उल्लेख गरिएको छ ।

त्यसै गरी काठमाडौँ उपत्यकाभित्र सञ्चालन हुने सार्वजनिक सवारी साधनहरू स्वीकृत सिट क्षमताअनुसार यसअघि तोकिएका स्वास्थ्य मापदण्ड पालना गर्ने गरी सञ्चालन गर्ने, कुल स्वीकृत सिट क्षमताभन्दा बढी यात्रु नराख्ने निर्णय गरेको छ ।

त्यस्तै काठमाडौँ उपत्यकामा अत्यावश्यक काम विशेषले प्रवेश गर्ने सार्वजनिक तथा निजी सवारी साधनहरूलाई आवत जावत गर्न दिइने, सार्वजनिक तथा निजी निर्माण कार्यको लागि निर्माण सामग्री ढुवानी बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म सञ्चालन गर्ने,सवारी साधन प्रयोग गर्दा स्वास्थ्य मापदण्डको अनिवार्य रुपमा पालना गर्नुपर्ने र काठमाडौँ आउन जिल्ला प्रशासन कार्यालयको पास नचाहिने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय