काठमाडौं । नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडले प्राकृतिक तथा गैरप्राकृतिक विपदबाट सर्वसाधारणको जिउज्यान र सार्वजनिक निजी तथा व्यक्तिगत सम्पत्ति प्रकृतिक एवं सांस्कृतिक सम्पदा र भौतिक संरचना संरक्षण गर्न आर्थिक सहयोग गरेको छ ।
विपद् जोखिम न्यूनीकरण गर्नका लागि लागि गण्डकी प्रदेश अन्तर्गतको सामाजिक विकास मन्त्रालयको प्रदेश विपद् व्यवस्थपन कोष खातामा जम्मा गर्नेगरी मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको उपस्थितिमा मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालय गण्डकी प्रदेश पोखरालाई वित्तीय संस्थाको तर्फबाट एक समारोहका बीच अध्यक्ष रमेशकुमार कर्माचार्यले सहयोग स्वरूप ९८ हजार ६ सय ८२ बराबरको चेक हस्तान्तरण गरेका हुन ।
सो अवसरमा मुख्यमन्त्री पोखरेलले अहिलेको विषम परिस्थितिमा वित्तीय संस्थाले समय सापेक्ष उपयुक्त ठाउँमा आर्थिक सहयोग गरेको बताए । कार्यक्रममा अध्यक्ष कर्माचार्यले वित्तीय संस्थाले छोटो अवधिमा देशका करिब २२ हजार महिला दिदिबहिनीलाई प्रत्यक्ष रूपमा वित्तीय सेवा प्रदान गरेको तथा सय जनाभन्दा बढी युवाहरूलाई प्रत्यक्ष रोजगार प्रदान गर्न सफल भएको बताए ।
सो अवसरमा वित्तीय संस्थाका निमित्त प्रमुख कार्यकारी अधिकत नयन देवकोटाले वित्तीय संस्थाले देशका विभिन्न पहाडी १० जिल्लाका २६ वटा शाखा कार्यालयबाट प्रत्यक्ष रूपमा लघुवित्त सेवा प्रदान गरिरहेको बताए । वित्तीय संस्थाको आर्थिक वर्ष २०७६/०७७ को खुद नाफाको एक प्रतिशत रकम संस्थागत सामाजिक उत्तरदायित्व कोषमा जम्मा गर्नुपर्ने व्यवस्था भएअनुसार उक्त रकम गण्डकी प्रदेश सरकारअन्तर्गत प्रदेश विपद व्यवस्थापन कोषमा जम्मा गरी विपद् व्यवस्थापनमा वित्तीय संस्थाको तर्फबाट सहयोग गरिएको देवकोटाले बताए ।
कार्यक्रममा वित्तीय संस्थाको सञ्चालकहरू विवेक श्रेष्ठ सीए, विनिता काईराला पीएचडी, सागर लामिछाने, गंगाप्रसाद तामाङ, कम्पनी सचिव दीपक पराजुली साथै वित्तीय संस्थाको विभागीय प्रमुख पवित्रा कोइरालाको समेत उपस्थिति रहेको थियो । वित्तीय संस्थाको केन्द्रीय कार्यालय पोखरा–१८, विन्ध्यावासिनी कास्कीमा रहेको छ ।