गंगाप्रसाद ढकाल नेपालका वरिष्ठ योग प्रशिक्षक तथा आयुर्वेद चिकित्सक हुनुहुन्छ । नेपालका विभिन्न जिल्लाका अलावा भारत, चीन, इन्डोनेसिया, मलेसिया, सिंगापुर, दक्षिण कोरिया, क्यानडा, फिलिपिन्स, अमेरिकालगायत दर्जन बढी मुलुकमा योग प्रशिक्षण दिइसक्नुभएका उहाँ यसैमा सुप्रसिद्ध मानिनुहुन्छ । प्रस्तुत छ– योग प्रशिक्षण एवं आयुर्वेदिक चिकित्सा क्षेत्र पेशा र आर्थिक अन्र्तसम्वन्ध आदि विषयमा ढकालसँग गरिएको वार्ता :
वास्तवमा योग र आयुर्वेदिक चिकित्सा भनेको के हो ?
यी दुई शब्द नै एकआपसका परिपूरक हुन् । योगको अर्थ, परिभाषा र फाइदा निकै फराकिलो छ । योगको छोटकरी अर्थ जोड भन्ने हो यद्यपि यसले धेरै पक्ष जनाउँछ । शरीरलाई मनसँग, मनलाई आत्मासँग र आत्मालाई परमात्मासँग जोड्ने प्रक्रिया नै योग हो । अझ भनौ जन्म र मृत्यु प्रक्रियाबाट मुक्ति पाउने माध्यम नै योग हो । योग विज्ञानसँग जोडिएको छ । वैज्ञानिक सोच र आयुर्वेद चिकित्सा विज्ञानको विकाससँगै योग गर्नेको संख्या अहिले अत्यधिक छ । आयुर्वेदिक चिकित्सा यसैको सहयोगी माध्यम हो ।
तपाईं आयुर्वेद चिकित्सा विज्ञानको क्षेत्रमा कसरी जोडिनुभयो ?
हुन त मेरो बुबा विनयप्रसाद ढकाल पनि सामान्य आयुर्वेद, तान्त्रिक विद्या गर्नुहुन्थ्यो । म पनि बुबाको पेशामा सानैदेखि चाख राख्थें । र त आयुर्वेदसम्वन्धी सामान्य ज्ञान त पहिलेबाटै पाएँ । एसएलसी पाए भएपछि म काठमाडौं झरें । अनि ललितपुरस्थित पाटन बहुमुखी क्याम्पसमा मानविकी विषय लिएर भर्ना भएँ । स्नातक तहसम्मको अध्ययन पूरा गरेपछि व्यापार–व्यवसायमा लागें । त्यसो हुँदा शरीर व्यायामहीन बन्यो । विभिन्न प्रकारका रोग लाग्यो । देश/विदेशका विभिन्न महँगा अस्पताल पुगे पनि रोगको निदान हुन सकेन । अन्ततः भारत हरिद्वारको कनखलमा योगगुरु बाबा रामदेवको सम्पर्कमा पुगें । र, यतातर्फको ज्ञान–बाटो खुल्यो ।
यससम्वन्धी प्रशिक्षण पनि लिनुभयो कि ?
लिएको छु । जगदम्बा मेडिकल कलेज राजविराजबाट वैद्यको र भारतको राजस्थानबाट एक्युप्रेशर थेरापीमा ‘मास्टर्स लेभल’ कोर्स पूरा गरें । गोरखपुरमा प्राकृतिक चिकित्साअन्तर्गत ‘हिलिङ थेरापी’, ‘मट्टीथेरापी’, ‘जलथेरापी’, ‘वाष्पथेरापी’ लगायत विषयको थप अध्ययन पनि गरें । यसैगरी वाल्मीकि क्याम्पसमा योगाचार्य र सीटीईभीटीबाट योगसम्बन्धी अध्ययन गरेको छु । नेपालमा सञ्चालित डा. योगी विकासानन्दको ‘मनोक्रान्ति’, श्रीश्रीश्री रविशंकरको ‘आर्ट अफ लिभिङ’, ऐश्वर्य विश्वविद्यालयको ‘ब्रह्मकुमारी राजयोग’, रमेश नेपाल र एलपी भानु शर्माको ‘जीवन विज्ञान’, कृष्णदासजी महाराजको ‘महायोग’ आदि योगसम्बद्ध विभिन्न तहको कोर्स समेत गरेको छु ।
नेपालमाचाहिँ कसरी पाइला अगाडि बढाउनुभयो ?
केही समयपछि नेपालमा पतञ्जली योग पीठ ट्रष्ट दर्ता भयो । त्यसले पतञ्जली योग समिति नेपाल बनायो । म त्यसमा झापा जिल्लाको अध्यक्ष हुँदै पूर्वाञ्चलप्रमुख बनेर १६ जिल्लामा योग जागरण अभियान, घरगाउँमा पाइने वनस्पतिको प्रयोग, आहारविहारजस्ता विषयमा अभियान पनि सुरु गरें । हाल झापाको दमक र सुनसरीको इटहरीमा ‘वैदिक आयुर्वेदिक एण्ड एकुप्रेशर हेल्थ केयर सेन्टर’ सञ्चालन गरिरहेको छु । यसैमार्फत निःशुल्क योग, शिविर, स्वास्थ्य शिविर, स्वास्थ्य सचेतना कार्यक्रम, भान्साभित्रको उपचार, तनाव व्यवस्थापन जस्ता विषयमा सेमिनार सञ्चालन भइरहेको छ । आयुर्वेदिक स्वास्थ्यकर्मीको नाताले क्लिनिकमा मात्र होइन, जहाँ पुगे पनि निःशुल्क स्वास्थ्य परामर्श भन्ने भाव राखेर प्रशिक्षण दिने गरेको छु ।
अनि यसरी आर्थिक आर्जनचाहिँ कहाँबाट हुन्छ त ?
पैसा कमाउन मैले यो पेशा रोजेको होइन । मसँग सेवा नलिने नेपालमा शायदै क्षेत्र होलान् ।
कहाँ–कहाँ सेवा दिनुभयो ?
सरकारी कार्यालयप्रमुखदेखि सहयोगीसम्म, सेना–प्रहरीका गण गुल्मदेखि कार्यालयसम्म, न्यायालयका न्यायाधीशदेखि वकिल, लेखनदाससम्म, विद्यालय–कलेजका प्राचार्यदेखि विद्यार्थीसम्म, बन्दीगृहका हाकिमदेखि कैदीसम्म, सुधारगृहमा राखिएका दुव्र्यसनी, शरणार्थी शिविरमा रहेका विदेशी नागरिकसम्म, मन्दिरका पुजारीदेखि दर्शनार्थीसम्म, पुराणका पण्डितदेखि भक्तजनसम्म, किसानदेखि मजदुरसम्म सबैका लागि योग अभियान नै चलाइसकेको छु ।
अहिले त कोरोनाको महामारी छ, कसरी सेवा दिनुहुन्छ ?
हो– विश्व महामारीको रूप लिएको कोरोना भाइरसको विभिन्न चरणको संक्रमण बढ्दै गएपछि विगत करिब १४ महिनायता नेपाल पनि हरक्षेत्रबाट थलिएको छ । तर, म भने कोरोनाको समयमा अझ व्यस्त छु । किनभने यस्तो बेला ध्यान, योगदेखि औषधिमुलो निकै महत्वपूर्ण हुन्छ । रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्नु, मनोबल उच्च राख्नु, सकारात्मक सोचको विकास गर्नुलगायत जरुरी हुन्छ । यही तथ्यलाई आत्मसात् गरेर मैले कोरोनाको संक्रमणबाट जोगिन, जोगाउन योग प्राणायाम, आयुर्वेद, व्यायाम र आहार–विहारको निःशुल्क व्यवस्था मिलाएँ, मिलाइरहेको छु । पूर्ण स्वास्थ्य मापदण्ड पालना गर्दै पार्क, विद्यालय, कलेज, क्वारेन्टाइन र अस्पतालमा योगको प्रयोगात्मक अभ्यास निःशुल्क गराएँ, गराइरहेको छु । यतिमात्रै होइन– जुम, अनलाइनको माध्यमबाट स्वदेश र विदेशका विभिन्न विकसित मुलुकमा योग गराइरहेको छु । भान्साभित्रको उपचार हर्बलजन्य वनस्पतिको प्रयोगजस्ता विविध विषयमा पनि ज्ञान दिइरहेको छु । फेरि कोरोना संक्रमणले नाकदेखि फोक्सोसम्मको भागमा बढी संक्रमण गर्ने र प्रभावित बनाउने हुँदा स्वास–प्रस्वासको भूमिका महत्वपूर्ण रहने भएकाले रेडियो, टेलिभिजन, पत्रपत्रिका, अनलाइन आदिको माध्यमबाट सचेतना कार्यक्रम चलाइरहेको छु ।
कुनै संघ–संस्थामा आवद्ध हुनुहुन्छ ?
म दमक उद्योग वाणिज्य संघको लेखा समिति संयोजक, अन्तर्राष्ट्रिय संस्था रोटरी क्लब अफ दमकको चार्टर सचिव, नेपाल–भारत मैत्री संघ, दमकको सञ्चालक समिति सदस्य, लायन्स क्लब अफ दमकको सदस्य छु । त्यस्तै सञ्चार उद्यमी तथा टेलिभिजन–रेडियो कार्यक्रम प्रस्तोता पनि हुँ । मैले ‘स्वास्थ्य सुरक्षाहरू’ नामक पुस्तक लेखन–प्रकाशन गरेको छु । अर्को पुस्तक पनि निकाल्दै छु । नेपालबाट प्रकाशन हुने धेरै दैनिक, साप्ताहिक, पाक्षिक, मासिक, त्रैमासिक पत्रपत्रिकामा समेत उहाँ स्वास्थ्यका विषयमा निरन्तर कलम चलाउँदै आएको छु । र त ‘योग तथा आयुर्वेद स्वास्थ्य सेवा सम्मान २०७६’, ‘राष्ट्रिय नागरिक सम्मान २०७६’, ‘राष्ट्रिय शिखर अनर अवार्ड २०७६’ सहित दर्जनौं अभिनन्दन, पुरस्कार तथा अवार्डबाट सम्मानित भइसकेको छु ।
प्रस्तुतिः अस्मिता क्षेत्री















