२०८३ बैशाख १ मंगलवार

काठमाडौं- योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा योगदानकर्ताको योगदान रकम १ खर्ब रुपैयाँ नाघेको छ। कोषले सार्वजनिक गरेको विवरणअनुसार योगदानको रकम १ खर्ब ५ अर्ब २६ करोड ८३ लाख २१ हजार ८ सय ४५ रुपैयाँ पुगेको हो।

कोषमा आबद्ध रोजगारदाताको संख्या २३ हजार ३ सय ३४ पुगेको छ। यसैगरी सूचीकृत योगदानकर्ताको संख्या २८ लाख ७३ हजार ३३ जना छ। कोषले अहिलेसम्म १९ अर्ब ४५ करोड ५२ लाख ५४ हजार ७ सय १९ रुपैयाँ विभिन्न योजनाअन्तर्गत दाबी भुक्तानी गरेको छ।

सबैभन्दा बढी रकम १५ अर्ब ९० करोड ६५ लाख ६६ हजार ४ सय २६ रुपैयाँ अवकाश दाबी भुक्तानीमा खर्च भएको छ। यसैगरी आश्रित परिवार सुरक्षा दाबी शीर्षकमा ३३ करोड २२ लाख रुपैयाँ खर्च भएको छ।

कोषले दुर्घटना तथा अशक्तता सुरक्षा योजनामा २५ करोड ७८ लाख रुपैयाँ र औषधि उपचार, स्वास्थ्य तथा मातृत्व योजनामा २ अर्ब ९५ करोड ८६ लाख रुपैयाँ खर्च गरेको छ।

कोषले स्वास्थ्य उपचारका लागि अस्पतालको संख्या भने बढाउन सकेको छैन। ७७ जिल्लाका जिल्ला सरकारी अस्पतालसमेत कोषमा आबद्ध हुन सकेका छैनन्। यसले कोषले अस्पतालको दायरा विस्तार गर्न नसकेको पुष्टि गर्छ। सहरी क्षेत्रका नाम चलेका तथा सुविधासम्पन्न अस्पतालसमेत कोषमा आबद्ध छैनन्।

ललितपुरका नाम चलेका अल्का, बी एण्ड बी, मेडिसिटी, सुमेरु, निदानलगायतका अस्पतालसमेत कोषमा आबद्ध छैनन। यसैगरी काठमाडौंका नाम चलेका अस्पताल ग्रान्डी, अन्नपूर्ण न्युरो, नर्भिक अस्पताल कोषमा आबद्ध छैनन् तर यहाँ कार्यरत कर्मचारी भने कोषमा आबद्ध छन्।

कोषका प्रवक्ता कृष्ण अधिकारी प्राविधिक कारणले अस्पतालको दायरा बढ्न नसकेको बताउँछन्। कतिपय अवस्थामा कोषले तय गरेको दररेटका कारण पनि नाम चलेका र महँगा उपचार प्रणाली प्रयोग गर्न अस्पताल आबद्ध नभएको हुन सक्ने उनको तर्क छ। अहिले दायरा बढाउने गरी दररेटलगायतमा काम भइरहेको र छिटै नै थप योजना घोषणा हुने उनले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर