काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा भएको तोडफोड तथा आगजनीबाट अर्थ प्रशासनको काम कारबाही प्रभावित भएको छ । अर्थ मन्त्रालय, भन्सार तथा कर कार्यालयहरू, कोष तथा लेखा नियन्त्रक कार्यालयहरूलगायत सरकारी निकाय क्षतिग्रस्त हुँदा तत्काल सामान्य प्रकृतिका बाहेक सेवा दिन नसक्ने अवस्थामा अर्थ प्रशासन पुगेको हो ।
अहिले यी निकायहरूले क्षतिको विवरण सङ्कलन गर्ने र क्रमशः सेवा सञ्चालनमा ल्याउने तयारी गरिरहेका छन् । अर्थ मन्त्रालयका प्रवक्ता टङ्कप्रसाद पाण्डेयका अनुसार बजेट महाशाखाअन्तर्गतका केही शाखामा क्षति पुगेको छ भने अरू संरचनाबाट तत्काल सेवा दिन सक्ने अवस्थामा मन्त्रालय रहेको छ । मन्त्रालयअन्तर्गतका मुख्य तीन वटा सफ्टवेयरहरू र त्यसको तथ्याङ्क सुरक्षित रहेको जानकारी पनि उहाँले दिनुभयो ।
“बजेट महाशाखाअन्तर्गतका केही शाखामा क्षति पुगेको छ । मन्त्रालयगत बजेट बजेट सूचना प्रणाली (एलएमबिआईएस), भन्सारअन्तर्गतको आसिकुडा र करतर्फको एकीकृत कर प्रणाली (आईटिएस) सुरक्षित छ”, उहाँले भन्नुभयो । उहाँका अनुसार आगजनीबाट मन्त्रालयका २५ वटा कार पूर्णरुपमा जलेर नष्ट भएका छन् भने २० हाराहारी कारमा आंशिक क्षति पुगेको छ । त्यस्तै ४० वटा मोटरसाइकल जलेर नष्ट भएको प्रवक्ता पाण्डेयले राससलाई जानकारी दिनुभयो ।
अहिले देशभरका भन्सार र कर कार्यालयहरूको क्षतिको विवरण सङ्कलन गर्ने काम भइरहेको छ । भन्सारको सेवा सञ्चालनमा आइसकेको छ भने आन्तरिक राजस्व कार्यालयको अनलाइन सेवा मात्रै सञ्चालनमा छ । आन्तरिक राजस्व विभागका महानिर्देशक मदन दाहालका अनुसार काठमाडौँ उपत्यका बाहिरका चार–पाँच वटाबाहेक सबै कर कार्यालयमा क्षति पुगेको छ ।
“सरकारले काम सुरु गर्नु भन्यो भने काठमाडौँ उपत्यकाभित्रका कार्यालयहरूबाट तत्काल सेवा दिन सक्ने अवस्थामा छन् । तर, काठमाडौँ बाहिरका धेरै वटा कार्यालय तत्काल सञ्चालनमा आउन सक्ने अवस्थामा छैनन्”, महानिर्देशक दाहालले भन्नुभयो ।
उहाँका अनुसार दमक, इटहरी, विराटनगर, लहान, जनकपुर, हेटौँडा, वीरगञ्ज, सिमरा, दमौली, पोखरा, भैरहवा, बुटवल, नेपालगञ्ज, डडेलधुरा, धनगढी कर कार्यालय पूर्णरुपमा नष्ट भएका छन् । यी कार्यालयबाट तत्काल सेवा दिन सक्ने अवस्था नरहेको दाहालको भनाइ छ ।
जतिसक्दो चाँडो सेवा पुनः सञ्चालनका लागि प्रयास भइरहेको उहाँले बताउनुभयो । “कर कार्यालयहरूमा पुगेको क्षतिको विवरण सङ्कलनका लागि अहिले जिल्ला प्रशासन कार्यालयको समन्वयमा मुचुल्का बनाउने काम भइरहेको छ । त्रिपाल टाँगेर भए पनि सेवा दिन सकिन्छ कि भनेर वैकल्पिक व्यवस्थामार्फत सेवा दिनका लागि पनि तयारी गर्न भनिएको छ”, उहाँले भन्नुभयो, “अहिले कर कार्यालयको अनलाइन सेवामा समस्या छैन । धेरै काम अनलाइनबाटै हुने गरेको छ । तर अधिकांश कार्यालयबाट भौतिक रूपमा सेवा दिन सक्ने अवस्था छैन ।”
जेनजी समूहबाटै आन्तरिक राजस्व विभागको वेभ साइटमा साइबर आक्रमणसमेत भएको थियो । केही समय ह्याकरको कब्जामा पुगेकोमा त्यसलाई फिर्ता ल्याउन सफल भएको उहाँले बताउनुभयो । भद्रपुर, धरान, कावासोती, जुम्ला, कृष्णनगर, सुर्खेत, महेन्द्रनगर कर कार्यालयमा क्षति नरहेकाले तत्काल सेवा दिन सकिने अवस्थामा छन् ।
भन्सार विभागका सूचना अधिकारी किशोर बर्तौलाका अनुसार भन्सार सेवा सञ्चालनमा आइसकेको छ । दैनिक उपभोग्य वस्तु तथा अत्यावश्यक खाद्यान्न, फलफूल, ग्यास, तेललगायतका वस्तुको जाँच पासलाई प्राथमिकतामा दिइएको उहाँले बताउनुभयो ।
“भद्रपुर, काँकडभिट्टा, विराटनगर, भैरहवा, कैलाली र जनकपुर भन्सार कार्यालयमा धेरै क्षति पुगेको छ । क्षतिको वास्तविक विवरण आइसकेको छैन । अहिले जिल्ला प्रशासन र प्रहरीसँगको समन्वयमा मुचुल्का तयार पार्ने काम भइरहेको छ”, बर्तौलाले भन्नुभयो । भौतिक संरचनामा क्षति भए पनि भन्सार जाँच पासका लागि प्रयोग हुने आसिकुडा प्रणालीमा क्षति नपुगेको सीमित स्रोतसाधनबाटै वस्तु जाँच पास सुरु गरिएको उहाँको भनाइ छ । चीनतर्फको कोरला नाका भोलि आइतबारदेखि सञ्चालनमा ल्याउने तयारी गरिरहेको उहाँले जानकारी दिनुभयो ।
आन्दोलनका क्रममा विभिन्न भौतिक संरचनामा क्षति पुगेपछि अहिले अधिकांश सरकारी खाता प्रणाली बन्द गरिएका छन् । महालेखा नियन्त्रक कार्यालयका सूचना अधिकारी ओमप्रसाद रिजालले अहिले राजस्व व्यवस्थापन सूचना प्रणाली (आरएमआइएस) मात्रै सञ्चालनमा ल्याउन सकिएको बताउनुभयो ।
“कैलाली कोलेनिकामा पूर्णरुपमा क्षति पुगेको छ । मकवानपुर, विराटनगर, त्रिपुरेश्वरलगायतका कार्यालयमा क्षति पुगेको छ । क्षतिका विवरणहरू सङ्कलन भइरहेका छन्”, उहाँले भन्नुभयो, “स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली ९सूत्र०, एकल खाता कोष प्रणाली ९टिएसए०, कम्प्युटरकृत सरकारी लेखा प्रणाली (सिगास) लगायतका सरकारी खाता सञ्चालनमा आउन सकेका छ्र्रैनन् । नयाँ सरकारबाट के निर्देशन आउँछ, त्यहीअनुसार अघि बढ्छौँ ।”















